कांग्रेस र राप्रपाका नेताको गर्जन – लोकतान्त्रिक गठबन्धनको विजयलाई कसैले रोक्न सक्दैन
प्रकाशित २०७४ मंसिर १८ सोमबार
298
Shares
नेपालगन्ज । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले संविधान कार्यान्वयन, लोकतन्त्र रक्षा र विकासको एजेण्डा बोकेको लोकतान्त्रिक गठबन्धनको जितलाई अब कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रमा मात्र जनताका हक अधिकार सुरक्षित हुने र विकास निर्माण सम्भव रहेको कुरा जनतालाई स्पष्ट भैसकेकोले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको ठोकुवा गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा लोकतान्त्रिक गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम् राप्रपाका महामन्त्री डा धवलसम्शेर राणाले क्षेत्र नम्बर २ चुनावी जोडघटाउ गणना गर्दै लोकतान्त्रिक गठबन्धन पहिलो नम्बरमा रहेको दावी गरे ।
‘म अत्यन्त खुसी भएको छु, प्रत्येक वडा र टोलमा काँग्रेस र राप्रपाका सिंगो कार्यकर्ता क्रियाशील हुनुभएको छ, म विभिन्न टोलमा पुग्दा त्यो अवस्था भेटेको छु, यो हिसाबले हामी अहिले सम्म १ नम्बरमा छौं’, राणाले भने ।
चुनाव सम्पन्न नहुँदासम्म दुबै दलका कार्यकर्ता यसरी नै संगठित भएर लागेमा नतिजा लोकतान्त्रिक गठबन्धनकै पक्षमा आउने निश्चित रहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले बताए ।
’यो चुनाव लोकतान्त्रिक गठबन्धनले जित्नैपर्ने चुनाव हो, किनकी यसको थुप्रै कारण छन‘, उपमहानगरका पिताले भने ‘नेपालगन्जलाई महानगरपालिका बनाउने, सुख्खा बन्दरगाह निर्माण गर्ने, अन्र्तराष्ट्रिय बिमानस्थल बनाउने लगायत महत्वपुर्ण काम गर्नुपर्ने भएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएपछि मात्र यो सबै काम गर्न सम्भव हुनेछ ।’
देशमा एकदलिय निरंकुश शासन व्यवस्था ल्याउने उद्देश्यले वाम गठबन्धन निर्माण भएको र क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनलाई नजिताए नेपालगन्ज उपमहानगरपालिकामा ठूला कामहरु अगाडी बढाउन कठिन हुने उनको दावी थियो ।
‘‘वामपन्थी दल वा मधेसवादी दलले चुनाव जितेभने लोकतान्त्रिक गठबन्धनले जितेको नेपालगन्ज उपमहानगरपालिकाको कामलाई पाईला पाईलामा अवरोध पुर्याउनेछन्, त्यसको असर विकास निर्माणको काममा पुग्नेछ’, मेयर राणाले भने ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले २०४६ सालदेखी नेपाली जनताले धेरै परिवर्तन स्वीकार गरिसकेको उल्लेख गर्दै अब जनता पछाडी फर्किन नचाहने बताए ।
‘वाम गठबन्धनले देशमा एक दलिय सशासन गर्न खोज्दैछन्, त्यसले जनताको स्वतन्त्रतालाई कुण्ठित गर्नेछ, साम्यवादमा कसैले पनि आफ्ना समस्या सुनाउन र राख्न पाउँदैनन्’, उनले भने, ‘त्यसकारण आफ्नो अधिकार सुरक्षित गर्नका लागी नेपाली जनताले लोकतान्त्रिक गठबन्धनलाई भारी मतले विजयी गराउनुपर्छ ।’
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले २१ औं शताब्दीका नेपाली जनताले एक तन्त्रिय कम्यूनिष्ट शासन व्यवस्थालाई स्वीकार गर्न नसक्ने बताए ।
विश्वका धेरैजसो मुलुकमा कम्युनिष्टहरु पलायन भईसकेको बताउँदै उनले नेपालमा पनि एक दलिय कम्युष्टि शासन ल्याउन खोज्दा जनतालाई भ्रममा पार्ने कम्युनिष्टहरु सखाप भएर जाने बताए ।
उनले नेपालमा लोकतान्त्रिक शासन व्यवस्था बाहेक अर्को विकल्प नभएको बताउँदै लोकतन्त्रमा सबै दल, भाषा, धर्म, वर्गको अधिकार सुनिश्चित हुने धारणा राखे ।
कार्यक्रममा बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजादले लोकतान्त्रिक गठबन्धनले जित्नु नै सम्पुर्ण नेपालीको विजयी हुने बताए ।
‘हामीलाई एकदमै विश्वास छ, क्षेत्र नम्बर २ मा मात्र होईन, सिंगो बाँके जिल्लाबासीले लोकतान्त्रिक गठबन्धनलाई भारी मतले विजयी गराउनुहुनेछ’, उम्मेदवार आजादले भने ।
यस्तै प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमालले मुलुकमा अहिलेसम्म भएका जतिपनि विकास निर्माणको काम लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव भएको बताए ।
उनले भने,‘ विकासको एजेण्डालाई लिएर हामी अगाडी बढेका छौं, यो मुलुकमा अब राजनीतिक क्रान्ति मात्र होईन, आर्थिक औद्योगिक र कृषि क्रान्ति गर्नुपर्ने बेला भएको छ, यो कुरा लोकतान्त्रिक शक्तिबाट मात्रै सम्भव छ ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ चुनाव प्रचार–प्रसार समितिका उप–संयोजक मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न चुनावी सभालाई राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली काँग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
लोकतान्त्रिक गठबन्धनले आईतबार बाँकेको क्षेत्र नम्बर २ का अन्य विभिन्न ठाउँमा पनि चुनावी सभा गरेको छ ।