सुनसरीलाई विकासको नमूना बनाउने धोको छ – उपप्रधानमन्त्री गच्छदार
प्रकाशित २०७४ मंसिर १८ सोमबार
181
Shares
इनरुवा । नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीको विकासका मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएकोले थप काम गर्नका लागि अवसर दिन मतदातासंग आग्रह गरेका छन् ।
सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटक पटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुवान कटान समस्या सहित सडक, पुल निर्माण, खानेपानी र स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा उपलब्ध गराएको उल्लेख गरे ।
उनले आफू संञ्चार राज्यमन्त्री हुँदा सञ्चारको क्षेत्रमा ल्याएको उदारवादी नीतिले देशमा रेडियो, टेलिभिजन, छापा माध्यममा नेपाल संसारमा तुलना गर्न लायक स्थानमा पुगेको पनि उल्लेख गरे ।
नेपाली कांग्रेसले लिएको सामयिक नीतिको फलस्वरुप नेपाली जनताले विकासको मुख देख्न पाएको पनि उनले उल्लेख गरे ।
गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा आफूले गरेको विकास जनताको आँखा सामु छर्लङग रहेको बताउँदै एमाले–माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौं पटक समेत जित्ने जिकिर गरे ।
उनले नेपालमा राजतन्त्र र कम्युनिष्टहरु नेपालको राजनीतिक स्थायित्व, लोकतन्त्र, विकास र समृद्धिको बाधकको रुपमा देखा परेको र त्यसमध्ये राजतन्त्रलाई जनताले किनारा लगाईसकेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने संसदीय व्यवस्थामा विश्वास नगरी अधिनायकवाद र निरंकुशताको बाटोमा गए कम्युनिष्टहरुलाई पनि जनताले किनारा लगाइदिने दावी गरे ।
उनले एमालेको अवरोध र माओवादीको सशस्त्र द्धन्द्ध नभएको भए मुलुकको विकासले फड्को मारिसकेको हुने पनि दावी गरे ।
उपप्रधानमन्त्री गच्छदारले बाँकी रहेका कामहरु अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गरे ।
कार्यक्रममा तीन सय भन्दा बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।