तनहुँमा कांग्रेसको समापन आमसभा दमौलीमा भव्य रुपमा गर्ने तयारी, को को जाँदैछन् ?
प्रकाशित २०७४ मंसिर १८ सोमबार
304
Shares
दमौली । नेपाली कांग्रेस तनहुँले यही मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको जिल्ला स्तरीय समापन आमसभा १८ गते भव्य रुपमा दमौलीमा गर्ने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँका सभापति एवम् व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दिएको जानकारी अनुसार सोमबारको आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्व अर्थ मन्त्री डा रामशरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, उद्योगपति विनोद चौधरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वरिष्ठ नेता पौडेलको घरदैलो सम्पन्न
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार रामचन्द्र पौडेलले चुनावी घरदैलो तथा कोणसभाका कार्यक्रम आइतबारबाट करिब करिव सकेका छन् । उनले आइतबार व्यास ७ को कलेस्ती, सिमलटार, कुमालगाउ, व्यास ९ को माझफाँट, नरङ्गा, गजौडे लगायतका क्षेत्रका मतदाताहरुको घरदैलोमा पुगेर नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी बनाउन मतदातालाई अनुरोध गरेका थिए ।
घरदैलो कै क्रममा वरिष्ठ नेता पौडेलले सात दशकसम्म नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन लोकतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्ने संविधान निर्माणको लागि लडेको नेपाली कांग्रेसले संविधानसभाबाट संविधान ल्याइसकेको उल्लेख गर्दै अब त्यसको कार्यान्वयन गर्दै देशको विकास र जनताको सुख सुविधा तथा समृद्धिको लागि काम गर्ने बताए ।
घरदैलोमा पुग्दा स्थानीय आमा समुह, युवा क्लबहरुले वरिष्ठ नेता पौडेलको भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा स्थानीय मतदाताहरुले ‘रुख पनि हाम्रो, उम्मेदवार पौडेल राम्रो’ भएकाले नेपाली कांग्रेसलाई जसरी पनि जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आइतवार सम्पन्न घरदैलो र कोणसभा कार्यक्रममा प्रदेशसभा १ (क) का उम्मेदवार गोविन्द भट्टराई, पूर्व मन्त्री अमरराज कैनी, रोल्पाका पार्टी सभापति मानबहादुर नेपाली, नेवि संघका केन्द्रीय उपाध्यक्ष नविन राइ, प्रदेशसभाका समानुपातिक उम्मेदवार सरिता गुरुङ, क्षेत्रीय कोषाध्यक्ष कल्पना पोख्रेल, दलित नेता चन्द्रा परियार, महिला संघ नगर सदस्य सरला श्रेष्ठ लगायतका स्थानीय नेताहरुले सम्बोधन गरेका थिए ।
आइतवारै वरिष्ठ नेता पौडेल व्यास १२ को कमलवारी, छिर्कन, मैवल, देउराली, नाहाला, सत्रसय, विमलनगर लगायतका क्षेत्रहरुमा घरदैलो तथा कोणसभामा सरिक भएका थिए ।