काठमाडौँ । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो ।
वृत्तले आइतबार पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिए।
सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानबाट खुल्न आएको छ । वृत्तले पक्राउ परेका तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको छ । बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु आठ करोड आठ लाख ९४ हजार ५०० हुन्छ । रासस