जनकपुरको विकास र मधेशी जनताको अधिकारका लागि कांग्रेसलाई भोट : नेता निधि
प्रकाशित २०७४ मंसिर १७ आइतबार
790
Shares
धनुषा । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले मधेसी जनताको राजनीतिक अधिकार रक्षा र जनकपुरको समग्र बिकासका लागी नेपाली कांग्रेसलाई मत दिनुपर्ने बताए । आफ्नै गृहनगर नगराईन नगरपालिकाको फूलगामामा आइतबार आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै नेता निधिले मधेशका जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संविधान संसोधनको पहल हिजोका दिनमा कांग्रेसले गरेको उल्लेख गर्दै त्यसमा एमाले बाधक भएको बताए ।
उनले भने–‘संविधान संसोधनको पहल हिजो पनि कांग्रेसले गरेको हो । फेरि पनि त्यसको अगुवाई कांग्रेसले नै गर्नेछ ।’ कांग्रेसले जितेमा मात्र संबिधान संशोधनको मुद्धा अगाडि बढ्ने भएकोले त्यसका लागि कांग्रेसलाई मत दिनुपर्ने उनको भनाई थियो । नेता निधिले जनकपुरलाई प्रदेश नम्बर दुईको राजधानी बनाउने बताउँदै त्यसका लागि आफूले पहल शुरु गरिसकेको उल्लेख गरे । उनले भने– ‘जनकपुरलाई प्रदेश नम्बर दुईको राजधानी बनाउनका लागि म आफै गृहमन्त्री भएको बेलामा जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गा जिल्ला प्रशासन कार्यालय धनुषाको मताहतमा ल्याएको छु ।’
उद्योग मन्त्रालय अन्तर्गत रहेको जचुकालिको सो जग्गा कौडीका भागमा बिक्री गर्ने तयारी भएकोमा त्यसलाई आफैले रोकेको पनि बताए । त्यसैगरी, उच्च अदालत र नेपाल प्रहरीको प्रदेशस्तरीय कार्यालय जनकपुरमा स्थापना भइसकेको पनि उनले उल्लेख गरे । प्रदेश नम्बर दुईको राजधानी बनाउनका लागि कतिपय काम अझै बाँकी रहेकोले त्यो सबै काम आफूले पूरा गरेरै छाड्ने निधिले उद्घोष गरे ।
उनले जनकपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि जटही –जनकपुर– ढल्केबर छ लेनको सडक बिस्तारको काम आफू भौतिक पूर्बाधार मन्त्री भएका बेला शुरु भएको बताउँदै एक दुई बर्षभित्र काम पूरा हुने जानकारी गराए । सडक निर्माणको काम पूरा भएपछि व्यापारिक नाका खोलेर भारतसँगको व्यापार सहज हुने बताए । उनले भने– ‘अहिलेसम्म भारतसँग जनकपुरको व्यापार सहज छैन । यो बाटो खुलेपछि सहज हुनेछ । ’
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सो नाका खोल्ने सहमति भएको बताउँदै नेता निधिले त्यसपछि जनकपुर नेपालकै प्रमुख व्यापारिक केन्द्र हुने र त्यसबाट बेरोजगारको समस्या क्रमशः हल हुने उल्लेख गरे । उनले जनकपुरमा राजर्षि जनक विश्वविद्यालय खोल्ने सबै कानुनी तयारी पुरा भएको बताउँदै शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनका माध्यमबाट जनकपुरलाई आर्थिक केन्द्रका रुपमा बिकास गर्न लागिएको बताए । यी सबै काम सम्पन्न भएपछि एक÷दुई वर्षमा जनकपुर आर्थिक केन्द्र बन्ने निधिको विश्वास छ ।