arrow

जितको खोजीमा पूर्व पराजित उम्मेदवार

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
Jhapa_District.png

सुरुङ्गा ।  विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । 

संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव लडेका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अहिले दुवैजना क्षेत्र नं २ बाट उम्मेदवार बनेका छन् । 

काँग्रेस झापाका सभापतिसमेत रहेका थापा झापा क्षेत्र नं ४ मा एमालेका प्रेम गिरीसँग दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए  भने खरेल झापा क्षेत्र नं २ मा काँग्रेसका उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित भएकी हुन् । 

निर्वाचन क्षेत्र समायोजनपछि थापा र खरेल अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । यसअघि पराजित उम्मेदवार भएकाले यस पटक दुवैजना जित्ने राणनीतिका साथ चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकिएसँगै दुवै उम्मेदवार मत माग्न व्यस्त देखिन्छन् । दुवैले जितको दाबी गरिरहेका छन् ।

काँग्रेस उम्मेदवार थापाले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, १५ हजार मेगावाट विद्युत् उत्पादन, स्मार्ट सिटी बनाउनेलगायत एजेण्डा अघि सारेका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन, स्थायी सरकारसँगै रोजगारीको विषयलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ