मुस्लिमहरुप्रति कांग्रेसको सम्मान, ‘मोहम्मद डे’मा यसरी रमाए उम्मेदवार
प्रकाशित २०७४ मंसिर १६ शनिबार
665
Shares
नेपालगञ्ज(बाँके)। बाँकेका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु मुस्लिम समुदायको “मोहर्रम पर्व”मा सामेल भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल शनिबार मुस्लिम बस्तीको घर–घरमा पुगेर शुभकामना साटासाट गर्दै सँगै “मोहमद पर्व”मनाएका छन्।
उक्त पर्वका अवसरमा नेपालगन्ज बजारमा निस्केको बृहत र्यालीमा सहभागिता जनाएर लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेदवारले शुभकामना साटासाट गरेका छन्। र्यालीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपा महामन्त्री डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
र्याली पछिको सभामा बोल्दै जामा मस्जिद ईदगाह सञ्चालक समितिका पुर्वमहासचिव ईसरत अलि मुकेरीले नजिक आईरहेको चुनाव र ‘मोहम्मद डे’बाट बाँकेका मुस्लिम समुदायहरु निकै उत्साहित बनेको बताए। आसन्न निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न भएको आम मुस्लिम समुदायले हेर्न चाहेको उनले बताए। शेरबहादुर देउवा नेतृत्वको वर्तमान लोकतान्त्रिक सरकारले पहिलो पटक ‘मोहम्मद डे’को अवसरमा बिदा दिएकोमा उनले आभार प्रकट गर्दै भने, ‘यसलाई नेपाली मुस्लिम समुदायले ऐतिहासिक ठानेका छन्, लोकतान्त्रिक सरकारले मात्र सबै जाति, भाषा, धर्मलाई सम्मान गर्न सक्छ ।’
निर्वतमान सांसद अब्दुल हमिद सिद्धिकी(भोला)ले देशमा लोकतान्त्रिक र वामपन्थीबीच ध्रुवीकरण भईसकेको बताउँदै संविधानको रक्षा, नयाँ संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्नका लागि लोकतान्त्रिक गठबन्धनलाई बाँकेका मुस्लिम समुदायले भोट दिने बताए । ‘मोहम्मद डे’को शुभकामना दिदै म निर्वतमान सांसद र नेपाली काँग्रेसको सिपाही भएको नाताले म सबै मुस्लिम दाजुभाइहरुलाई भन्न चाहन्छु, लोकतान्त्रिक गठबन्धनबाट मात्र यो देशको भविष्य बनाउन सम्भव छ, देश वामपन्थीको हातमा गएपछि तपाई, हामीले अहिलेसम्म पाएका अधिकार गुम्ने पक्का छ ।’
उनले नेपाललाई संविधान दिने संविधानका पिता स्वर्गीय सुशील कोइरालाको क्षेत्रमा यसपटक पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई छ ।