बाँकेमा कांग्रेसले ल्यायो नौलो शैली 'प्रभावशाली व्यक्तिआफ्नो पक्षमा पार्दै'
प्रकाशित २०७४ मंसिर १६ शनिबार
827
Shares
नेपालगञ्ज । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा लोकतान्त्रिक गठबन्धन बाँकेका उम्मेद्वारहरुले प्रचार प्रसारका गतिविधिहरुलाई तीब्र बनाउँदै लगेको छ ।
कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियानका साथै आ आफ्नो क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई पक्षमा पार्न प्रयासरत छन् । सामाजिक क्षेत्रमा कहलिएका व्यक्ति, क्लब र संगठनका मत आफ्नो पक्षमा पार्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु सक्रिय छन् । ‘प्रतिष्ठित व्यक्ति र क्लबका प्रतिनिधिहरुले ठूलो संख्यामा मतलाई प्रभावित गर्ने हैसियत राख्छन् । उनीहरुलाई आफ्ना एजेण्डा बुझाउने र पक्षमा ल्याउने काम पनि घनिभूतरुपमा थालिएको छ । जसले लोकतान्त्रिक गठबन्धनको पक्षमा महौल बनाउन थप मद्दत पुर्याएको छ’, नेपाली कांग्रेस बाँकेका एक नेताले भने ।
चुनावी सभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खत्री र प्रदेश सभा उम्मेदवार गौडेलले संविधान कार्यान्वयन गरी लोकतान्त्रिक शासन व्यवस्थामार्फत मुलुकलाई समृद्धितर्फ अघि बढाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको विजय हुनु आवश्यक रहेको धारणा राखेका थिए ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ (ख) का उम्मेदवार नारायण गौडेलले प्रदेश सभा( क) का उम्मेदवार शरदचन्द्र बर्माले घर दैलो कार्यक्रमलाई तिव्र बनाएका छन्
क्षेत्र नं. २ (ख) को मोर्चा प्रदेशसभा उम्मेदवार सुरेद्र हमाल र प्रतिनिधि सभा उम्मेदवार ले ओमप्रकाश आजाद राप्रपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुको दलबलसहित घर दैलोमा व्यस्त छन् ।बाँके क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसले आईतबार बिशेष कार्यक्रम आयोजना गरेको छ । विभिन्न वडाहरु समेटेर एकै दिन तीन वटा संयुक्त सभा गर्ने तयारी भएको छ । प्रदेश सभा (ख) का सबै वडाहरुलाई संयुक्त सभामा समेटिने छ ।
क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु दिनैभर घरदैलो अभियानमा व्यस्त छन् । प्रचार प्रसारका लागि समय घट्दै गर्दा लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर ३ का उम्मेदवार कुर्मी र प्रदेशसभा ३ (क) का उम्मेदवार चन्तराम थारुले खजुरा घरदैलो कार्यक्रममा रहदा स्थानीयबासीले सडक, पुलपुलेसा, सिंचाइँ सुविधाको माग उम्मेदवारसमक्ष गरेका थिए ।
प्रदेशसभा ३ (ख) का उम्मेदवार लक्ष्मीनारायण शाहले राधापुरको जलपोखरी, जानकी गाउँपालिकाको मानपुर र खजुराको डि गाउँमा घरदैलो र चुनावी कार्यक्रम सम्पन्न गरेका छन् । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्व जरुरी रहेको बताउँदै शाहले कम्युनिष्ट अधिनायकवाद रोज्ने कि प्रजातन्त्र रोज्ने भन्नेबीचको लडाइ भएकाले त्यसै अनुसार मतदान गर्न पनि मतदाताहरुसँग अपील गरे ।