मतदाता भन्छन्- 'हाम्रो नयाँ माग छैन पुरानै प्रतिबद्धता पूरा गरे पुग्छ'
रमेशकुमार वली
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
211
Shares
सल्यान । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् । पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
वाम गठबन्धनले सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षमा १० स्थानीय तहका ८३ वडामा सडक कालोपत्रे गर्ने, स्थानीय बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने र जिल्लाका विभिन्न गाविसलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने उल्लेख छ । त्यस्तै नेपाली काँग्रेसले घरदैलो अभियानमा जाँदा वैदेशिक रोजगारीमा गएका युवालाई जिल्लामै स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली काँग्रेसले फ्रि वाइफाइ, पर्यटकीयस्थलको विकास र सडक सञ्जालजस्ता विकास निर्माणको प्राथमिकतासहित घरदैलो अभियानमा जुटेको छ ।
जिल्लामा प्रदेश (ख) बाट मात्र उम्मेदवारी दिएको राप्रपा अरुभन्दा फरक प्रतिबद्धताका साथ घरदैलोमा जुटेको छ । जिल्लामा हालसम्म पनि प्राविधिक शिक्षालय नभएकाले राप्रपा जितेमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
हाम्रो नयाँ माग छैन पुरानै प्रतिबद्धता पूरा गरे पुग्छ
आआफ्ना प्रतिबद्धता लिएर मतदातासामु पुगेका दललाई जिल्लाका मतदाताले कुनै नयाँ माग राखेका छ्रैनन् । पहिलेका निर्वाचनमा राखेका प्रतिबद्धतालाई पूरा गर्ने हो भने जिल्ला आफैँ समृद्ध हुने उनीहरुको भनाइ छ ।
निर्वाचनका बेला विभिन्न नयाँ नयाँ प्रतिबद्धता लिएर जाने नेतालाई आफ्नो क्षेत्रको विकास गर्ने हो भने पहिलेकै प्रतिबद्धता पूरा गरे पुग्ने वनगाड कुपिण्डे नगरपालिकाका दुर्गा विसीले बताए । “जनतालाई सडक, खानेपानी, बिजुली र रोजगारी चाहिएको छ, यति पूरा गरे हाम्रो नगरपालिका समृद्ध बन्छ, हामीले यही माग नेतासँग राखेका छौँ ।” दुर्गा विसीले भने ।
कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका बासिन्दाको माग पनि नयाँ छैन आफ्नो वडामा खानेपानीको चरम संकट भएकाले खानेपानी आयोजना निर्माण तथा सडकको स्तरोन्नति गरिदिन नेतासँग माग राखेको कालीमाटी गाउँपालिका–१ का अम्मरबहादुर भण्डारीले बताए । “यहाँका स्थानीयले नदी र खोलाको फोहर पानी खाइरहेका छन्, सडकसँग मान्छेको दैनिकी जोडिएको छ, ठूलाठूला प्रतिबद्धता गर्नुभन्दा आधारभूत कुरा पूरा गर्नुस् भनेका छौँ ।” भण्डारीले भने ।
स्थानीय तहको सीमांकनको क्रममा छत्रेश्वरी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर रुष्ट भएका छत्रेश्वरी–१ दमाचौरका मतदाताको माग पनि नयाँ छैन । जितेकाले आफूहरुलाई पायक पर्ने स्थान लेखपोखरामा सार्न सहयोग गर्नुपर्ने माग उनीहरुको छ । “दलहरुले धेरै राम्रा प्रतिबद्धता लिएर हामीकहाँ आए उनीहरुको कुरा पनि सुन्याँै तर हाम्रो समस्या भनेको अहिलेको गाउँपालिकाको केन्द्र अहिलेको सदरमुकामभन्दा पनि टाढा छ, यसलाई पायक पर्ने स्थानमा सार्न सहयोग गर्नुप¥यो ।” छत्रेश्वरी–१ का नवीन चन्दले भन्नुभयो ।
माओवादी केन्द्र र बागीको दोहोरी
निर्वाचनको मिति नजिकिँदै गर्दा माओवादी केन्द्र र बागी उम्मेदवारबीच कारबाहीको दोहोरी चल्न थालेको छ । वाम गठबन्धनले गरेको सिट बाँडफाडका क्रममा सल्यानलाई अन्याय परेको भन्दै माओवादी केन्द्र सल्यानले आधिकारिक उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्तासँगै चुलिएको विवाद पार्टीमा एक अर्कालाई कारबाहीको सिफारिससम्म पुगेको छ ।
गएको मंसिर अगाडि माओवादी केन्द्र सल्यानको सचिवालय बैठक बसेको भन्दै वर्तमान माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई जिम्मेवारीबाट मुक्त गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीलाई संयोजकको जिम्मेवारी तोकेको थियो । तर त्यसको दुई दिनपछि मंसिर १३ गते माओवादी केन्द्र सल्यानको पूर्ण बैठकले बिना विभागीयमन्त्री टेकबहादुर बस्नेतसहित पाँच जनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीका लागि सिफारिस गरेको छ ।
बैठकले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेवबहादुर कवर, कृतिबहादुर पुन, रमेश मल्ल र रत्नबहादुर ओलीलाई समेत हँदैसम्मको कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले बताए ।
कार्यकर्तालाई बुझ्नै गाह्रो
माओवादी केन्द्र सल्यानको निर्णयअनुसार आफूहरुले उम्मेदवारी दिएको भन्दै पार्टीको झण्डा बोकेर घरदैलोमा बागी उम्मेदवार हिँडेपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा अन्यौलता छाएको छ । आफूहरु पार्टीको आधिकारिक उम्मेदवार भएकाले पार्टीको झण्डा बोक्नु ठूलो नभएको माओवादी केन्द्र सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले बताउछन् । “हामीले प्रत्यक्ष निर्वाचनका लागि आआफ्नो चुनाव चिह्नमा मत मागेका छौ" बुढाथोकीले भने
वाम गठबन्धको तर्फबाट माओवादी केन्द्रबाट उम्मदवारी दिएका बिना विभागीयमन्त्री टेकबहादुर बस्नेतले भने बागी उम्मदवारले पार्टीको झण्डा बोकेर मत माग्न गएको कहिलै नदेखेको बताउछन् । बागी उम्मदवारी दिने पार्टीको झण्डा बोक्ने के यो सुहाउने कुरा हो, उनीहरुलाई कार्यकर्तालाई भ्रममा पार्ने अधिकार कसले दियो ? बस्नेतको प्रश्न छ ।
वाम गठबन्धनबाट प्रतिनिनिधसभा सदस्यका लागि माओवादी केन्द्रका टेकबहादुर बस्नेत र प्रदेशसभा सदस्य (क) बाट एमालेका गुलाव जंग शाह र प्रदेश (ख) बाट प्रकाश ज्वालाले उम्मेदवारी दिएका छन् ।