सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन: प्रधानमन्त्री
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
686
Shares
धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले भने, “निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस् ।”
निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, “सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।”
कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उहाँले दृढता व्यक्त गरे । उनले निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री देउवाले शुक्रबार नै अछाम र डोटीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।