हाँडीखोलाका ४ सय ६० एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
299
Shares
मकवानपुर । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका १ र २ नम्बर वडा हाँडीखोलामा ४ सय ६० जनालाई कांग्रेस प्रवेश गराएका छन् । बिहीबार बिहान भएको चुनावीसभा कार्यक्रममा मनहरी १ बाट एमालेका नेता रघुनाथ अधिकारीको नेतृत्वमा १ सय ५१ जना र २ नम्बर वडामा ३ सय ९ जना एमाले तथा माओवादी केन्द्रका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेबाट कांग्रेस प्रवेश गरेका अधिकारीलाई बानियाँले जिल्ला सदस्यमा मनोनित गरेको घोषणा गरे । कांग्रेसप्रति बढेको जनविश्वास र कांग्रेसको नेतृत्वमा भएको परिवर्तन एवम् विकास नै जिल्लामा लोकतान्त्रिक गठबन्धनको जितको आधार भएको उल्लेख गर्दै उनले कांग्रेसले जनताको मतको कदर गर्ने बताए । ‘मतदान भनेको आत्मदान हो, तपाइँले गरेको आत्मदानलाई कांग्रेसले उपेक्षा गर्ने छैन ।
अबको चुनावमा ढुक्क भएर कांग्रेसको पक्षमा मतदान गर्नूहोस्’, बानियाँले भने, ‘यस क्षेत्रको विकासको बिषयमा चुनावको समयमा मैले गरेको वाचा पूरा गर्न सकिन भने मलाई जुत्ताको माला लगाएर लखेटे हुन्छ ।’ कम्युनिष्टहरुले पटक पटक जितेर पनि विकास नभएको कारण निकै पछि परेको साविकको २ र ४ नम्बर क्षेत्र तथा अहिलेको २ नम्बर निर्वाचन क्षेत्रको विकासको लागि पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र आफू निर्वाचन लड्न आएको बताए । कम्युनिष्टहरुले जस्तो आश र त्रास देखाउन नभै मकवानपुरको विकास गर्नको लागि कांग्रेसका उम्मेदवारहरु एकढिक्का भएर अघि बढेको भन्दै उनले विकास र समृद्धि एवम् रोजगारीको निम्ति रुख चिन्हमा मतदान गर्न अनुरोध गरे ।
कार्यक्रममा कांग्रेस नेता भरत पराजुली, स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रहेका शङ्कर न्यौपाने, राप्रपाका नेता सिताराम बर्तौलालगायतले पटक पटक कम्युनिष्टलाई जिताएका मतदाताले यस पटक कांग्रेसलाई जिताएर आफ्नो क्षेत्रको मुहार फेर्न अनुरोध गरे ।
कर्रा क्षेत्रका एकसय ४५ जना युवाहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार दिउँसो नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । कलाकार हिना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । निर्वाचन परिचालन समिति वडा संयोजक हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार एवम् राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिँह, प्रदेशसभा सदस्य पदका उम्मेदवार अशोक शाक्य, कांग्रेसका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, कार्यबाहक सभापति बिष्णु लामिछाने, राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, कांग्रेस नेता उमा दाहाल, प्रदीप कोइराला, राप्रपा नेता सिताराम बर्तौलालगायतले उनीहरुलाई टीका र माला लगाएर लोकतान्त्रिक गठबन्धनमा स्वागत गरेका हुन् ।
प्रचारप्रसार समिति संयोजक रेशम श्रेष्ठ एवम् कांग्रेसका स्थानीय युवा नेता युवराज लामाको समन्वयमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् ।