एमालेका पुराना नेता साउदसहित ७२ जना कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
396
Shares
कैलाली । कैलालीका नेकपा एमालेका पुराना नेता प्रेम साउदसहित ७२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँद सहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत गरे ।
नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका भानसिंह साउद, सुर्जबहादुर कार्की, दलबहादुर बोहरा लगायत रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य शेरचनले कांग्रेसले जहिले पनि सिमान्तकृत वर्ग समुदायको हकहितका पक्षमा काम गरेको चर्चा गरे।
उनले फलफूल तथा तरकारीको उर्बर क्षेत्र रहेको चुरे गाउँपालिकाका निगाली, खैराला र सहजपुरलाई सुन्तला जातको फलफूल र अदुवाको पकेट क्षेत्रका रुपमा विकास गरिने बताए । उनले सहजपुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने पनि बताए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, प्रदेश सभा सदस्य (ख) का उम्मेदवार हिरादत्त भट्ट, पूर्व क्षेत्रीय सभापति भीम गौतम, नेता सुरत कार्की, नगर सभापति हेमपकाश उप्रेती, प्रवक्ता तेजबहादुर खड्का लगायतका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी क्षेत्र नम्बर ४ को गौरिगंगा नगरपालिका वडा नम्बर १० को भैंसासुर, भगतपुर, कमैया वस्ती, जानकीटोल, उदासिपुर र चौमालाको सुकुम्बासी वस्तीमा बिहीबार घरदैलो तथा टोलभेला भएका छन् ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, पूर्व राज्यमन्त्री दीर्घराज भाट, क्षेत्रीय सभापति दिनेशराज जोशी, महाधिवेशन प्रतिनिधि उत्तमबहादुर कठायत, नेता रामबहादुर कलेल, लगायतको सहभागिता रहेको थियो ।