'उच्छृङ्खलता बढ्दैगए निर्वाचन नै लोकतन्त्रकालागि विषालु बन्छ'
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
563
Shares
वीरगञ्ज । राजनीतिक दलहरुले चुनावी घरदैलोसँगै मतदाता शिक्षा लैजानुपर्नेमा पर्साका बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले सुझाएका छन् । हाम्राकुरा डटकमले वीरगञ्जमा आयोजना गरेको मतदाता शिक्षा सम्बन्धी अन्तत्र्रिmर्या कार्यक्रममा बोल्ने बुद्धिजीवीहरुले तथा नागरिक समाजका अगुवाले मत बदर भएकै कारण उम्मेदवार हार्ने अवस्था नआओस् भन्नेमा सबै सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।
निर्वाचन आयोगले मतदाता शिक्षामा करोडौं खर्च गरेको भएपनि त्यो प्रभावकारी नदेखिएको र सबै ठाउँमा नपुगेको भन्दै वुद्धिजीवी र नागरिक समाजका अगुवाले दल र उम्मेदवारले घरदैलोसँगै मतदातालाई पनि मत खसाल्न शिक्षित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नागरिक समाजका अगुवा एवं अधिवक्ता पन्नालाल गुप्ताले स्थानीय तहको निर्वाचनमा पनि राज्यले मतदाता शिक्षामा खासै ध्यान नदिएको तर मतदाता स्वयंले मत खसाल्ने तरिकाको बारेमा सिक्ने गरेको दाबी गरे । निर्वाचन आयोगले प्रत्येक मतदाताको घरमा गएर मतदाता शिक्षा दिन कार्यकर्ता खटाएको बताउँदै आएपनि आयोगले भनेजस्तो प्रगति नदेखिएको नभएको दावी उनको छ ।
‘प्रत्येक राजनीतिक दल चुनाव जित्ने इच्छा राखेरै चुनावमा लडेका हुन्छन् । त्यसका लागि को भन्दा को कम भनेर आचार संहिता विपरितका गतिविधि गर्न तत्पर देखिन्छन् । तर उनीहरुले पनि मतदाता शिक्षामा खासै गम्भीरता देखाउन सकेका छैनन् ।’ गुप्ताले भने ‘ स्थानीय तहमा मतदाता स्वयंले सिकेका कारण कम मत बदर भएको छ । अहिले पनि त्यसै गर्नुपर्ने अवस्था छ ।’
वीरगञ्ज पब्लिक कलेका निर्देशक एवं प्राध्यापक दिपक शाक्यले निर्वाचन सही नभएको र उच्छृङ्खलता बढ्दै गएको खण्डमा त्यो नै लोकतन्त्रका लागि विषालु हुने बताए । उनले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र सञ्चारमाध्यमको प्रयोग हुनुपर्नेमा जोड दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले मतदाता शिक्षामा आयोगको मात्रै भर परेर नहुने बताए । जिल्ला मताधिकार सञ्जाल पर्साका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्सा पूर्व अध्यक्ष केसी लामिछानेले मत सही तरिकाले खसाल्न नजानेकै कारण मत बदर हुने र जित्नुपर्ने उम्मेदवारले हार्ने गरेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम वञ्जारा, पूर्व अध्यक्ष दिपेन्द्र चौहान लगायतले दलै पिच्छे मिडिया र मिडिया सेन्टर खोलिएको र उनीहरुले सम्प्रेषण गर्ने समाचारले मतदातालाई अन्यौलमा पार्ने गरेको बताए । उनीहरुले प्रत्यक्ष तर्फ भन्दा पनि समानुपातिकमा एउटै मत पत्रमा दुई ठाउँमा छाप लगाउनुपर्ने भएकोले मतदाता झुक्किन सक्नेमा सचेत रहनुपर्ने बताए ।
विभिन्न राजनीतिक दलका अगुवाहरुले पनि आयोग मार्फत भईरहेको मतदाता शिक्षा प्रभावकारी नभएको र आफूहरुले त्यस तर्फ ध्यान दिन नपाएको स्वीकार गरेका छन् । उनीहरुले बाँकी रहेको समयमा गम्भिर भएर मतदाता शिक्षामा ध्यान केन्द्रित गर्ने बताए । नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति अजय द्विवेदीले लोकतान्त्रिक परिपाटीबाट नै लोकतन्त्र खतरामा रहेको अवस्थामा मतदाता शिक्षा प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
नेकपा एमालेका पर्सा जिल्ला संयोजक प्रभु हजाराले मतदाता मतदान गर्ने विषयमा अझै अलमलमा रहेको आफूहरुले पनि बुझेको बताए । उनले कोण सभामा नमुना ब्यालेट पेपर देखाएर मतदान गर्न सिकाउने गरेको जानकारी दिए । राजपाका सहमहासचिव नेजामुद्धिन समानीले निर्वाचन आयोगले नै मतदाता शिक्षित होस भन्ने नचाहेको आरोप लगाए । उनले प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि दुईवटा मतपत्र हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे । हाम्राकुरा डट कमको प्रधान सम्पादक अजयबाबु सिवाकोटीका अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार विजय चौहानले गरेका थिए ।