हरिनगरा(सुनसरी)। अरुबेला राजधानी र विदेशका कार्यक्रममा सहभागी भएको दृश्य टेलिभिजनमा मात्र देखिने नेपालका अर्थमन्त्री हरिनगरा गाँउको टोलटोलमा सबै मतदातालाई जुम्लाहात गरी नमस्कार र जय नेपाल टक्रयाउदै हिडेको देख्दा स्थानीयहरु दंग परेका छन् ।
पहिलो पटक सुनसरीबाट निर्वाचनमा उम्मेद्वार बनेका अर्थमन्त्रीले घरघरमा पुगेर समस्यामात्र सोधेका छैन, तिनको समाधान दिने बचन पनि दिएका छन् । विकासमा पछि परेको सुनसरी क्षेत्र नं ४ का प्राय सबै नगरपालिका र गाँउपालिकाका वडाका बासिन्दाहरुमा यो चुनाव पछि गाँउ र ठाउको मात्र हैन आफ्नो जीवनस्तर पनि सुध्ने आशामा छन् । अर्थमन्त्रीको आश्वासनमा उनीहरुले राम्रैसँग विश्वास गरेका छन् ।
बुधबार हरिनगरा ५ स्थित सिसुवाटोल पुगेका अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सो स्थानमा किसानका लागि बिशेष कोल्डस्टोर सञ्चालन गर्ने बचन दिएका छन् । हरिनगरा गाउँ पालिका वडा नंबर ४ खरीटोलमा घरदैलोको क्रममा आयोजित कोणसभामा उनले स्थानीय जनतालाई अभिसाप बनेको सुनसरी खोलालाई बाँध बनाएर किसानको लागि सिँचाई गरी अवसर सृजना गर्ने बताए ।
आफ्नै दैलौमा आइपुगेका अर्थमन्त्री कार्कीलाई ११५ वर्षीया उसमान अन्सारीले निर्वाचनमा विजयी बन्न आशीर्वाद दिएका छन् । अन्सारी हरिनगरा ५ खड़ी टोल निवासी हुन्।