विराटनगर। उपप्रधानमन्त्री एवं काँग्रेस नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेसले जीतेमा मात्र लोकतन्त्रको वलियो हुने बताएका छन् । मोरङको ६ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत बुढीगंगा–६ कोहीलपुरमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता गच्छदारले लोकतन्त्र रक्षाको इतिहास नेपाली काँग्रेससँग मात्रै जोडिएको दावी गरे।
उपप्रधानमँत्री गच्छदारले काँग्रेसप्रती आम नेपालीको आस्थाको केन्द्र रहेको दावी गरे। संविधान जारी गर्न कांग्रेसले महत्वपुर्ण भुमिका निर्वाह गरेकाले संविधान कार्यान्वयनका लागी नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले वताए । उनले शान्ति स्थापना र प्रजातन्त्र रक्षाका लागि काँग्रेसले खेलेको भूमिकाकै कारण आफूले आफ्नो पार्टी समायोजन गरेको बताए ।
कार्यक्रममा काँग्रेस नेता एवं मोरङ ६ नम्वर क्षेत्रका प्रतिनिधीसभा उमेदवार डा शेखर कोइरालाले, लोकतन्त्र र स्थायित्वका लागि नेपाली काँग्रेस निर्वाचित हुनुपर्ने औल्याए ।
चुनावीसभामा काँग्रेसका प्रदेशसभा उमेदवार चुमनारायण तबदारले नेपाली कांग्रेसमा मत हाल्नका लागि मतदातालाई अपिल गरे।