कांग्रेसलाई जिताउन निर्माण व्यवसायीसँग खाँणको आग्रह
प्रकाशित २०७४ मंसिर ११ सोमबार
439
Shares
धनगढी (कैलाली)। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपाली कांग्रेसको बुहमत आएमा मात्र मुलुकमा स्वदेशी र विदेशी लगानी बढ्न गई शान्ति,समृद्धि र विकास–निर्माणले गति लिने भएकोले लोकतन्त्रवादी निर्माण व्यवसायीहरुले नेपाली कांग्रेसलाई विजयी गराउन हरसंभव सहयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीले सोमबार धनगढीमा आयोजना गरेको भेलालाई संबोधन गर्दै नेता खाँणले सो कुरा बताएका हुन् ।
नेता खाँणले मुलुकमा कम्युनिष्टहरुको गठबन्धनले एकपटक जनादेश लिएर ५० बर्ष शासन गर्ने कच्चा अभिव्यक्ति दिएकोले स्वदेशी र विदेशी लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै भने,“ लोकतान्त्रिक मुलुकको साख जोगाउन र स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास जगाउन पनि यो निर्वाचनमा लोकतान्त्रिक शक्तिले अत्यधिक बहुमत ल्याउन पर्ने हुन्छ, त्यसलाई निर्माण व्यवसायीहरुले गम्भीरतापूर्वक लिनुहुनेछ ।”
भेलामा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुमनाथ कोइरालाले यो निर्वाचन कम्युनिष्ट शासन पद्धति र लोकतान्त्रिक शासन पद्धतिबीचको जनमत संग्रहको रुपमा रहेकोले सबै निर्माण व्यवसायीहरुले यो चुनावमा मन वचन र कर्मले खटेर नेपाली कांग्रेसलाई विजयी बनाउनु पर्ने बताए ।