उमेद्वारले नै भने, ' मतपत्रमा स्वस्तिक चिन्ह लगाउने र पट्याउने कुरा हामीले नै राम्रोसँग जानेका रहेनछौ '
प्रकाशित २०७४ मंसिर १० आइतबार
516
Shares
ललितपुर । नेपाली काँग्रेस ललितपुरका सभापति तथा प्रतिनिधि सभा ललितपुर ३ का उम्मेदवार मदन अमात्यले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षाको अभावबाट पार्टीलाई आउने एउटा भोट पनि खेर जान नदिन पार्टीका अगुवा कार्यकर्ताहरु सजग हुनु पर्ने बताएका छन् ।
हाम्राकुरा डक कम र इआइसिटि नेपालले आइतवार काठमाडौमा गरेको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै अमात्यले मतदान गर्ने र मतपत्र पट्टयाउने वारेमा भोट दिन आउनु अघि नै मतदाताहरुलाई सचेत बनाउनु पर्ने आबस्यकता औंल्याए।
उनले भने, ‘मतपत्र पट्याउने वारेमा मलाई पनि त्यती धेरै जानकारी रहेनछ । मलाई नै थाहा नभए, अरु सर्वसाधारणले कसरी थाहा पाउछन ?’चुनाव अघि नै मतदाता शिक्षालाई घर घरमा लैजान आबस्यक भएको पनि उनले बताए ।
उनले भने, ‘घरदैलो कार्यक्रममा पनि मतदाता शिक्षावारेमा भन्ने गरेका त हुन्छौ तर त्यो अपर्याप्त रहेछ । अब घर घरमै शिक्षा दिनुपर्छ । ’
कसरी मतदान गर्ने, स्वस्तीक छाप कहाँ लगाउने, छाप लगाइसके पछि कसरी पट्याउने आदि कुरा घरमै गएर मतदाताहरुलाई सिकाउन उनले आफ्ना पार्टीका अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘ हामीले हाम्रा मतदाताहरुलाई वरिपरिका घेरालाई अलिकति पनि नछुने गरी मतपत्रको कोठा भित्र पर्ने गरी स्वस्तिक छाप लगाउन सिकायौ भने मतगणना गर्ने बेलामा हामी बलियो हुन्छौ ।’ अमात्यले भने, ‘त्यसैले मतदाता शिक्षालाई गाँउ शहर सबै क्षेत्रमा पुर्याउन जरुरी छ । ’
मतदाता शिक्षाको अभावमा एउटा भोट पनि खेर गयो भने पार्टीलाई ठूलो नोक्सान पर्ने भन्दै उनले भने, ‘आगामि निर्वाचनमा नेपाली काँग्रेसलाई हार्न नदिन प्रचार प्रसार कार्यक्रमसंगसंगै मतदाता शिक्षा कार्यक्रमलाई पनि हामीले त्यतीकै महत्व दिनुपर्छ ।’
उनले भने,‘मतदाता शिक्षाको अभावले पार्टीलाई आउने एउटा भोट पनि खेर जान दिन हुदैन । यसको लागि हामी आजैबाट अभियान शुरु गरौ ।
कार्यक्रममा नेपाल बार एशोसियसन ललितपुरका अध्यक्ष दिपक विष्टले मतदाता शिक्षाको अभाव ग्रामिण क्षेत्रमा बस्ने जनताको तुलनामा शहरी क्षेत्रमा बस्ने मतदाताहरुमा देखिएको तथ्य सुनाए ।
‘ गाँउमा बस्ने मतदाताहरु मतदाता शिक्षाबारेमा जागरुक हुन्छन तर शहरी क्षेत्रमा बस्ने मतदाताहरु आफूलाई जान्नेसुन्ने ठान्छन ।’विष्टले भने, ‘ आफूलाई जाने बुझेको ठान्ने शहरी क्षेत्रका मतदाताहरु मतदाता शिक्षावारेमा अनविज्ञ नै हुन्छन । न त उनीहरु अरुसंग बुझ्न नै चाहन्छन ।
मतदाता शिक्षावारेमा जागरुक बनाउन खोज्नेहरु पनि शहरी क्षेत्रलाई भन्दा ग्रामिण क्षेत्रलाई रोज्ने भएकोले शहरी क्षेत्रमा समस्या देखिएको उनले बताए ।
‘ उमेद्वारले भोट दिनुहोस भनेर मात्रै पुग्दैन । कसरी भोट दिने भन्ने वारेमा पनि मतदाताहरुलाई सिकाउनुपर्छ । ’ मतदाता शिक्षा घर घरमा पुग्न नसक्दा अमूल्य मत खेर जानेतर्फ दलहरु नै सतर्क रहुनपर्ने उनले बताए ।
कार्यक्रममा आयोजक संस्था हाम्राकुरा डककमका अजयबाबु शिवाकोटीले मतदान गर्ने र मतपत्र पट्याउने तरिकावारेमा उपस्थित सहभागीहरुलाई सिकाउदै भने, ‘हामीले मत दिए पनि मतदाता शिक्षावारेमा थाहा पाएनौ भने हामीले दिएको मत खेर जान्छ ।'
विशेषगरी शहरी क्षेत्रका मतदाताहरु मतदाता शिक्षावारेमा चासो नराख्ने र पत्रपत्रिका, टेलीभिजनमा सूचना आयो भने सूचना सुन्न र हेर्न नचाहने प्रवित्तिले मतदाता शिक्षा घर घरमा पुग्न नसकेको उनले बताए ।
उनले भने, ‘मतदाता शिक्षाको अभावले भोट खेर जान नदिन उम्मेदवारहरुले भोट माग्ने बेला नै मतदाता शिक्षावारेमा पनि जानकारी गराउनु पर्छ । ’
हाम्राकुरा डटकमले शहरी क्षेत्रका मतदातारुमा मतदाता शिक्षाका बारेमा चेतना जगाउने कार्यक्रम गर्ने उनले बताए।
ललितपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागि मतदाता शिक्षा कार्यक्रममा मतदानका बेला प्राप्त हुने ३ वटा मतपत्रमा कसरी मत खसाल्ने भन्ने बारेमा जानकारी वाँडिएको थियो।
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ मत खसालेपछि समानुपातिकतर्फ एउटै मतपत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको मत प्रकट गर्ने विषयलाई आम मतदातामा स्पष्टसँग बुझाउन कार्यक्रम सफल भएको सहभागिहरुको धारणा थियो।