arrow

बुद्धिजिवीहरुसँग खाँणले भने, ' राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेसको बहुमत अनिवार्य '

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
balkrishna_khad1.jpg

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मुलुकमा राजनीति स्थायित्व कायम राख्न र आर्थिक विकासका कार्यक्रम सञ्चालन गरी समृद्धि हासिल गर्न आसन्न निर्वाचनमा नेपाली काँग्रेसको बहुमत अनिवार्य भएको बताएका छन्। 

नेपाली काँग्रेसको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ प्रचारप्रसार समन्वय उपसमितिको आयोजनामा राजधानीको बानेश्वरमा पेशागत तथा बुद्धिजीवीको भेलामा खाँण बोल्दै थिए। 

नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि संविधान जारी गर्ने समयमा असहमति जनाएर बाहिरिएका राजनीतिक शक्तिहरु स्थानीय निर्वाचन र यो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै खाँणले  भने,“ यो निर्वाचनमा बहुमतमा आएपछि नेपाली काँग्रेसको नेतृत्वले निर्वाचनमा सहभागी नभएका समूहहरुलाई पनि यसै संविधान अन्तरगत रहेर आफ्ना एजेण्डा अगाडि सार्ने मार्गमा ल्याउने छ , हाम्रो समन्वयकारी भूमिकाले संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका शक्तिहरु पनि चुनावमा सहभागी हुने अवस्था सिर्जना भएको छ ।”

उनले लोकतान्त्रिक शक्तिलाई सबल बनाउने र लोकतान्त्रिक धार बलियो बनाउने जिम्मेवारी पनि नेपाली काँग्रेसमा नै रहेको उल्लेख गरे ।

कार्यक्रममा उनले नेपाली काँग्रेसले यो निर्वाचनमा लोकतान्त्रिक पद्धतिको स्थायित्व , देशको विकास तथा आर्थिक समृद्धि नै मुख्य मुद्दाको रुपमा काँग्रेसले उठाएको बताए । उनले राजनीतिक स्थायित्वको नारा दिने कम्युनिष्ट पार्टीका सरकार नै सबैभन्दा अस्थिर भएको उल्लेख गदै  स्थिर सरकार नेपाली काँग्रेसले मात्र दिएको र दिने स्पष्ट पारे ।

नेता खाँणले संविधान निर्माणबाट बाहिरिएका शक्तिलाई स्थानीय निर्वाचन र हालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहभागी गराउनु पनि ठूलै उपलब्धि भएको बताए ।

बामपन्थी गठबन्धनले ५० बर्ष शासन गर्ने कुरा गरेर लोकतन्त्रवादी सबै नेपालीलाई झस्काएको उल्लेख गर्दै खाँणले भने, “नेपालमा रहेको धार्मिक,सांस्कृतिक,जातीय,भौगोलिक विविधतालाई एकदलीय कम्युनिष्ट व्यवस्थाले संबोधन गर्न सक्दैन ।”

काँग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले आगामी  निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन विभिन्न पेशागत व्यवसायी र बुद्धिजीवीहरुसंग परामर्श गर्दै आएको छ ।

बुद्धिजीवी तथा व्यवसायीहरुको सो बृहत भेलामा योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्मा, पूर्व मुख्य सचिव डा. विमल कोइराला त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया, पूर्व सचिव विश्वप्रकाश पण्डित, पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्व राजदूत डा.दुर्गेशमान सिंह, नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष प्रमेबहादुर खड्का, कलाकार भूमिका श्रेष्ठ, प्रा.मधुरा कार्की, पूर्व राजदूत शम्भुराम सिंखडा,पूर्व प्रशासक टीकादत्त निरौला, प्रा.डा पुष्कर बज्राचार्य, व्यवसायी दिव्यमणि राजभण्डारी, नेपाल इञ्जिनियर्स एशोसियनका अध्यक्ष  हरेराम श्रेष्ठ, साहित्यकार तथा पत्रकार हरि अधिकारी, प्रा. डा. खगेन्द्र भट्टराईले निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन विभिन्न सुझावहरु दिएका थिए। 

नेपाली काँग्रेस केन्द्रिय प्रचार प्रसार समन्वय समितिका सदस्य तथा केन्द्रीय मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यको सहजिकरणमा सम्पन्न भएको सो कार्यक्रममा योजना विद्, अर्थशास्त्री, पूर्व प्रशासक, कलाकार, अधिवक्ता, इञ्जिनियर,चिकित्सक,शिक्षक,पत्रकार लगायतका विभिन्न पेशाका झण्डै डेढ सय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ