कम्युनिष्ट शासन युवा पुस्ताका लागि ठूलो सकस : खाँड
प्रकाशित २०७४ मंसिर ९ शनिबार
159
Shares
भक्तपुर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा कुनै हालतमा कम्युनिष्ट शासन आउन नदिने बताएका छन् । बिहान भक्तपुर क्षेत्र नं. २ ले गरेको निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्य समेत रहेका खाँडले कम्युनिष्ट शासन युवा पुस्ताका लागि ठूलो सकस हुने बताए ।
“बिश्वमा अब चारवटा मुलुकमा मात्रै कम्युनिष्ट शासन छ । आज जसरी नेपाली युवाहरु अध्ययन र रोजगारीका लागि विदेश जान पाएका छन्, कम्युनिष्ट शासनमा कोही पनि निर्वाध रुपमा विदेश जान पाउँदैन ।” उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा मात्र कम्युनिष्ट शासन रहेको बताउँदै काँग्रेस नेता खाँडले ती मुलुकबाट कोही नागरिक स्वेच्छाले विदेश जान समेत नपाउने गरेको उदाहरण प्रस्तुत गरे। उनले त्यसकारण पनि युवाहरुले कम्युनिष्ट पार्टीलाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो भने।
नेपालको विकास जलस्रोत र पर्यटनको प्रवद्र्धनबाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता खाँडले मुलुकमा कम्युनिष्ट शासन आएका पर्यटकहरु समेत आउन नपाउने उत्तर कोरियाको उदाहरण दिए । नेपालीको विकास र सम्बेद्धिका लागि लोकतन्त्रको विकल्प नभएको र नेपाली काँग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने नेता खाँडले बताए ।
कार्यक्रममा सो क्षेत्रका नेपाली काँग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुंगानाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने उल्लेख गरे। संविधानको रक्षा र मानव अधिकारको प्रत्याभूतिका लागि नेपाली काँग्रेसको विकल्प नभएकाले पनि आफू फेरि नेपाली काँग्रेसको उम्मेदवार भएर यस क्षेत्रमा आएको ढुंगानाले बताए ।