तीन करोड नेपालीलाई अधिकारसम्पन्न बनाउने कांग्रेसको लक्ष्य : चन्द्र भण्डारी
प्रकाशित २०७४ मंसिर ४ सोमबार
844
Shares
खैरेनी (गुल्मी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि भएको बताएका छन् ।
गुल्मी प्रतिनिधि क्षेत्र नम्बर १ को जोहाङ्ग खैरेनीमा आयोजित चुनावी भेलालाई संबोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेका कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई वर्तमान संविधानमा समेटिएको बताउदै अब राजनीतिक परिवर्तनको मिसन पूरा भएकोले कांग्रेस अब आर्थिक परिर्वतनमा लाग्ने बताए ।
“३ करोड नेपालीलाई अधिकारसम्पन्न गराउने कांग्रेसका लागि विकास निर्माण र समृद्धिको लक्ष्य हासिल गर्न कुनै समस्या छैन”,नेता भण्डारीले भने।
उनले जङ्गलमा बसेर बम पड्काउने, माओवादीका नेतालाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खोजेर भारतबाट रातारात बालुवाटार भित्राएर शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र स्थायित्व कायम गर्दा नेकपा एमालेले रमिता हेरेर बसेको आरोप समेत लगाए ।
उनले पहिलो संविधानसभाबाट चार चार जना कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा पनि बन्न नसकेको संविधान जङ्गली हात्ती जस्तो माओवादी र साँढे जस्तो एमालेका बीचमा नेपाली काँग्रेसको कुशल नेतृत्वका कारण सविंधान निमार्ण भएर जारी भएको पनि बताए ।
नेता भण्डारीले एमालेले स्थानीय निर्वाचन समेत गर्न नसकेपछि नेपाली काँग्रेस सम्मिलित सरकारले निर्वाचनको मिति घोषणा गरेर कांग्रेसको नेतृत्वमा बनेको सरकारले सो जिम्मेवारी पूरा गरेको बताए ।
अपाङ्गहरुका लागी औषधी , मुटु रोगीहरुका लागी निशुल्क उपचार, १५ बर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क औषधी जस्ता जनताको सेवा सम्बन्धी निर्णय नेपाली काँग्रेसले गरेको पनि उनले बताए ।
उनले जिल्लामा गरिएको विकासको जश दिन पनि एमालेले कन्जुस्याईँ गरेको आरोप लगाउदै भने, “एमालेले मैले गरेको विकासको विरोध गर्नुको अर्थ त जनताले सुख सुविधाको विरोध गर्नु जस्तै भएन र ?”
नेता भण्डारीले नेपालमा बाम गठबन्धनले जनताको अधिकारलाइ लुट्न सक्ने खतरा भएको समेत बताए । उनले थपे,“ संसार मै घृणित र असफल भइसकेको अधिनायकवाद नेपालमा ल्याएर यहाँका जनताको अधिकारमाथि लात हान्ने दुष्प्रयास भैरहेको छ, यो निर्वाचनमा कांग्रेसलाई अत्यधिक मतले जिताएर जनताको अधिकार खोस्न चाहनेहरुलाई जवाफ दिनुपर्दछ ।”
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार पृथ्वी फौदारले आफु विजय भएको खण्डमा विकासको लहर ल्याउने समेत प्रतिवद्धता ब्यक्त गरे।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मोहन ज्ञवाली लगायतका नेताहरुले पनि संबोधन गरेका थिए ।