काँग्रेसको जनलहर देखेर प्रतिपक्षीले आक्रमण सुरु गर्यो : गुरुङ
प्रकाश धौलाकोटी,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
465
Shares
तेह्रथुम। नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले नेपाली काँग्रेसको जनलहर देखेर प्रतिपक्षीले आक्रमण सुरु गरेको आरोप लगाएकी छन् । तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै काँग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताइन् ।
काँग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार विहान शंकास्पद विष्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । काँग्रेसको राम्रो पकड सो क्षेत्रमा त्रास फैलाउनका लागि बाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको गुरुङको भनाइ छ ।
उनले आम जिल्लाबासी मतदातालाई कसैको दबाब र प्रभावमा नपरी लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि एकजुट हुन आव्हान समेत गरिन् । राज्यमन्त्री गुरुङले दैनिक तीन वटासम्म चुनावी सभाहरुमा सम्बोधन गरिरहेकी छिन् ।
कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले कम्युनिष्ट गठबन्धनले काँग्रेसको जनमतलाई प्रभावित पार्न आक्रमणको प्रयास थालेको बताए । दलहरुले उम्मेदवारी दर्तापछि प्रचार प्रसारलाई तिव्र बनाएका छन् । गुरुङको मुख्य प्रतिष्पर्धीको रुपमा कम्युनिष्ट गठबन्धनका उम्मेदवार एमाले नेता भवानीप्रसाद खापुङ पनि चुनावी प्रचार प्रसारमा छन् ।