रामेछाप । रामेछापमा भिन्न भिन्न कार्यक्रममा ४ सय ७० भन्दा बढी माओवादी तथा एमालेका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार काँग्रेसका महामन्त्री शशांक कोइराला र केन्द्रीय प्रतिनिधि शोभाकर पराजुलीको सहभागितामा भिन्न भिन्न ठाउँमा भएका दुई कार्यक्रमहरुमा सो संख्यामा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
पश्चिमी रामेछापको लखनपुरमा भएको जनसभामा काँग्रेस महामन्त्री कोइराला पुगेका थिए भने मन्थलीमा भएको सभामा पराजुली पुगेका थिए । सो मध्ये लगनपुरमा भएको कार्यक्रममा ४ सय जना नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए भने बाँकी ७० जना मन्थली नगरपालिका वडा नं ८ मा प्रवेश गरेका थिए ।
मन्थलीमा नेकपा माओवादीका इकाई सचिव शिव कार्की सहित ७० जना माओवादीका नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस केन्द्रीय प्रतिनिधि शोभाकर पराजुली र रामेछापका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामले मन्थली नगरपालिका वडा २ कठजोरमा शनिबार भएको जनसभामा कार्की सहित ७० जना माओवादीका नेता तथा कार्यकर्तालाई काँग्रेसमा स्वागत गरेका छन् । काँग्रेस प्रवेश गर्नेमा दयाविर माझी समेत छन् ।
काँग्रेसमा प्रवेश गरेका कार्कीले आफू जन्मजातै कम्युनिस्ट भएको बताउदै कम्यूनिष्टले मुलुकमा विकासको कुरा भन्दा पनि नारा मात्र घोकाएकोले विकास र समाजको उन्नतिका लागि काँग्रेसलाई रोजेको बताए ।