बाजुरा । बाजुरामा आगामी मंसिर १० गते हुने लागिरहेको पहिलो चरणको प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनको माहोल बढ्दै गएको छ । दुई क्षेत्र रहेको जिल्लामा यस पटकको चुनाबमा नेपाली काँग्रेस र वामगठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
सबै उम्मेदवारहरु आ–आफनै नेता कार्यकर्ता सहित चुनाव जितिने दृढ संकल्पका साथ चुनावी प्रचार प्रसार अभियानमा जुटेका छन् । प्रतिनिधि सभा तर्फ नेपाली काँगे्रस बाजुराले नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितलाई चुनाबमा उठाएको छ ।
त्यस्तै नेकपा एमाले,माओवादी केन्द्र बामगठबन्धनबाट नेकपा एमालेका बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापालाई उम्मेदवार बनाएर चुनाबमा होमिएका छन् । यस्तै प्रदेश सभाका लागि नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. १ (क) बाट पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी र निर्वाचन क्षेत्र नं. २ (ख) बाट पदम बहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने बामगठबन्धनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेव रेग्मी र अछाम जिल्ला ईन्चार्ज प्रकाश शाहलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
विगत २०७० सालको निवाचनमा एमालेले जितेको बाजुरामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटामा वर्चश्य जमाएको छ । वामगठबन्धनले गर्दा काँग्रेसलाई गाह्रो हुने देखिएपनि स्थानीय तहले गर्दा सहज हुने काँग्रेसले आकलन गरेको छ । यता बामगठबन्धनले भने आफुहरु सहज रुपमा निर्वाचनमा विजय हुने संकल्पका साथ लागिरहेको छ । बाजुरामा यसपटक ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् ।