वसन्तपुर पूर्वकै नयाँ र समृद्ध शहर बन्छ :राज्यमन्त्री गुरुङ
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
347
Shares
तेह्रथुम । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको वसन्तपुर बजारलाई आगामी एक दशकभित्र पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताएकी छन् ।
लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा आयोजित चुनावीसभामा बोल्दै बुधबार काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राज्यमन्त्री गुरुङले नयाँ शहरको रुपमा विकास शुरु भएको वसन्तपुरको विकासलाई कसैले रोक्न नसक्ने बताएकी हुन् ।
उनले मध्यपहाडी लोकमार्गले छोएका दश स्थानमा नयाँ शहरी आयोजना सञ्चालन गर्ने सरकारको अवधारणा बनेपछि आफूले वसन्तपुरलाई नयाँ शहर बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन् । "अबको एक दशकभित्र बसन्तपुर अत्याधुनिक सुविधासहितको समृद्ध शहर बन्छ, यो नै पहाडी क्षेत्रको एउटा गन्तव्य बन्नेमा कुनै शंका छैन," उनले भनिन् ।
उनले यस क्षेत्रको समृद्धिको अर्को आधार गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र भएको भन्दै त्यहाँ रहेको गुराँसको संरक्षण र प्रचार गरी पर्यटकीय गन्तव्य बनाउनु जरुरी रहेको बताइन् ।
चुनावी सभामा प्रदेश सभा (क) निर्वाचन क्षेत्रका उम्मेदवार काँग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले तमोर जलाशययुक्त आयोजना बनेमात्र पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव हुने बताए । कार्यक्रममा अन्य काँग्रेस नेता कार्यकर्ताले समेत सम्बोधन गरेका थिए ।
राज्यमन्त्री गुरुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार हुन् । उनीका विरुद्ध वाम गठबन्धनले नेकपा (एमाले)का निवर्तमान सांसद भवानीप्रसाद खापुङलाई उभ्याएको छ । खापुङ पनि अहिले चुनावी अभियानमा छन् । रासस