हेटौँडा । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले माओवादी केन्द्र र एमालेबीच भएको तालमेल चुम्बकका दुई फरकफरक ध्रुव जोडिए जस्तै भएको बताएका छन । बकैया गाउँपालिकामा प्रचार प्रसार कार्यालयको उद्घाटन एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन ।
अध्यक्ष थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन र विदेशी चलखेल रोक्न लोकतान्त्रिक शक्तिहरु एक भएको बताउँदै संविधान जारी भएपश्चात हुन लागेको पहिलो निर्वाचनले आगामी ५ वर्ष देशलाई कुन दिशातर्फ डो¥याउने र विकासको साँचो कसको हातमा दिने भन्ने निर्णय जनताको हातमा भएको भन्दै उनले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।
त्यसैगरी, प्रतिनिधिसभा १ अन्र्तगत प्रदेश सभा क का उम्मेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बताए । बाम गठबन्धनको जस्तो झूटको खेतीगर्न लोकतान्त्रिक गठबन्धनले नजान्ने बताउँदै उनले जनताको माझ गरेका प्रतिबद्धता पूरा गराउन आफू गोविन्द केसी जस्तै बनेर अनसन बस्नुपरे पनि तयार रहेको बताए।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख कृष्ण सञ्जेल, काँग्रेस नेतृ रिता खनाल, जिल्ला सदस्य ईन्दिरा न्यौपाने, राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, राप्रपा केन्द्रीय सदस्य नवराज विष्टल गायतकाको उपस्थिति रहेको थियो । त्यसैगरी लोकतान्त्रिक गठबन्धनको बकैया गाउँपालिकाको वडा नम्बर ७ भीरकोट, वडा नम्बर ४ जुरेली, वडा नम्बर ५ श्रीपूर र वडा नम्बर ६ जुईनामा चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।