विराटनगर । मोरङको रंगेलीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । गोली लागेर मोरङ डायनिया–९ का शिवु माझी र रंगेली–४ कि ६० वर्षीया द्रोपदीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते भएका वर्णङ्गा–१ का महादेव ऋषिदेवको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको तराई मधेस लोकतान्त्रिक पार्टीका मोरङ जिल्ला अध्यक्ष मोहम्मद काजिरले जानकारी दिए ।
प्रहरीलाई मोर्चा कार्यकर्ताले तीर र धारिलो हतियार प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको हो । प्रहरी र कार्यकर्ताको झडपको क्रमा गोली लागि अन्य ३ मोर्चा कार्यकर्ता घाइते छन् । एक प्रहरी सहायक निरिक्षक पनि घाइते रहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् । घाइतेको विराटनगर स्थित गोल्डन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
रंगेली र डायिनयाँ चोक अझै तनावग्रस्त छ । उता, विराटनगरको जलजला मोड र महाविर चोकमा समेत प्रदर्शन भएको छ । मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजारस्थित एमालेका दुईजना कार्यकर्ताको घरमा वुधबार राति तोडफोड गरेपछी उत्पन्न भएको तनाव विहिबार दिन भर रहयो । रंगेलीमा कार्यक्रम सुरु भएपछि मोर्चा कार्यकर्ता थप उग्र भएका हुन् ।