राजविराज । आगामी अगामी मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीका राजनीतिक दल अहिले चुनावी प्रचारप्रसार सक्रिय छन् ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अहिले शहरी तथा ग्रामीण क्षेत्रको चुनावी अभियानमा लागेको राजनीतिक दलका कार्यकार्ताको भनाइ छ । जिल्लाका मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकापा (एमाले) (माओवादी केन्द्र) संयुक्त वाम गठबन्धन, राजपा संघीय फोरम गठबन्धन र राष्ट्रिय प्रजातत्र पार्टी र स्वतन्त्र उम्मेदवारलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका हुन् ।
जिल्लामा स्वतन्त्रसहित १५२ उम्मेदवार अहिले चुनावी मैदानमा छन् । चुनावी मैदानमा होमिएका विभिन्न राजनीतिक दलमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले),माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र राजपा फोरम नेपालको गठबन्धनका नेता तथा कार्यकता र उम्मेदवार गाउँगाउँमा भोट माग्न व्यस्त छन् ।
वाम गठबन्धनले चुनवी अभियानलाई त्रिव्रता दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपानेले बताए । सप्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा(एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धाबाट अशोक मण्डल, राजपा फोरम गठबन्धनबाट डा सूर्यनारायण यादव र नेपाली काँग्रेसबाट रामदेद शाह उम्मेदवार हुन् । त्यस्तै मधेसवादी दलका नेता तथा कार्यकर्ता गाउँघरमा चुनावी अभियानमा लागेको सप्तरी क्षेत्र नं २ (ख)बाट राजपाको तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारी दिनुभएका मनिसकुमार सुमनले बताए ।
खासगरी युवालाई चुनावी प्रचारप्रसारमा लागाइएको र उनीहरुले गाउँदेखि शहरका हरेका ठाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उनले जानकारी दिए । यस्तै वाम गठबन्धनले पनि सप्तरी क्षेत्र नं २ मा चुनावी अभियानलाई तीव्रता दिएको छ । यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री उमेशकुमार यादव र फोरम –राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । उनीहरु दुवैजनालाई चुनावमा जिताउनुपर्ने अभियानमा वाम गठबन्धन र गठबन्धनका कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
त्यस्तै सप्तरी क्षेत्र नं २ मा आफ्नो पार्टीबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र जयप्रकास ठाकुरले पनि चुनावी अभियानलाई तीव्रता दिएको उम्मेदवार ठाकुरले बताए । उनीहरू दुवैजनालाई राजपा पार्टीबाट टिकट नदिएपछि अहिले स्वतन्त्र उम्मेदवार बनेका हुन् । ठाकुर प्रतिनिधिसभा २ र यादव प्रदेशसभा २ को (ख)बाट चुनावी मैदानमा प्रतिस्पर्धी बनेका छन् ।
निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दिनेश यादव, वाम गठबन्धनका ताराकान्त चौधरी र संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका चन्द्रकान्त चौधरी चुनावी मैदानमा छन् भने निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी, वाम गठबन्धनका मो. इस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट मृगेन्द्रकुमार सिंह यादव पनि चुनावी मैदानमा छन् । उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस समेत शुरु गरेका छन् ।
जिल्लाको विभिन्न ठाउँमा चुनावी अभियान तीव्र हुँदा जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुनेभन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवीको भनाइछ ।