arrow

झापामा काँग्रेसको यस्तो जनलहर, सिटौलादेखि शर्मासम्मले कहाँ के भने ? 

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
congress-flag.jpg

भद्रपुर । नेपाली कांग्रेस झापाका उम्मेवारहरुले शनिबार आफ्नो उम्मेद्वारीको औचित्य र जीतको आधार प्रस्टयाउने प्रयत्न गरेका छन् । धेरै उम्मेदवारहरुले लोकतन्त्र र संविधानसभाबाट जारी भएको संविधानको रक्षा अनि भौतिक पूर्वाधार निर्माण तथा आर्थिक विकासलाई नै आफ्नो एजेण्डाको रुपमा प्रस्तुत गरेका छन् ।

 शनिवार कन्काई सुरुङ्गा प्रेस क्लबले आयोजना गरेको अन्तरसम्वादमा झापाका कांग्रेस उम्मेद्वारहरुले लोकतन्त्र र संविधानको रक्षा, लोकतान्त्रिक पद्धतिको अभ्यास र आर्थिक तथा सामाजिक विकास नै आफ्नो लक्ष्य भएको बताएका हुन ।

 झापा ४ नंबाट प्रतिनिधिसभामा सदस्यका कांग्रेस उम्मेद्वार बनेका देउमान थेवेले तीन वटा झण्डालाई मतदाताले विश्वास गर्न नसक्ने बताए ।

 ‘चुनाव प्रचारका बेला एकै ठाँउ तीन वटा झण्डा फराइन्छ । त्यसले मतदातामा अन्योल बढाएको छ’ थेवेले भने ,‘मतदाता एउटालाई रोज्न चाहन्छन्, तीन थरिलाई होइन ।’

 थेवेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण र कार्यन्वयनका लागि कांग्रेसलाई मत दिनु पर्ने बताए । ‘भ्रम छरेर जनता झुक्याउन सकिन्न’ उनले भने, ‘शान्ति सम्बृद्धि र सुशासन कांग्रेसको एजेण्डा हो, एमालेले नै लोकतान्त्रिक शक्तिको जीतलाई स्वीकारी सकेको छ, जीतको आधार त्यही हो ।’


उनले विकास आफ्नो प्रमुख लक्ष्य भएको बताए ।

 क्षेत्र नम्बर–४ प्रदेश (क) का कांगेस उम्मेद्वार किरण भट्टराईले व्यवसायिक र प्राविधिक शिक्षाको ग्यारेन्टी, एक घर एक रोजगारी, कृषिको आधुनिकीकरण, विकास र शान्ति आफ्नो चुनावी मुद्दा भएको उल्लेख गरे ।

 ‘हामी बोलेको कुरा पूरा गर्छौं शान्ति, सम्बृद्धि र संविधान कार्यन्वयन कांग्रेसको लक्ष्य हो’ भट्टरार्इले भने ,‘समावेशी उम्मेद्वारी, सबै जाति, भाषाभाषिकाको सम्मान नै मेरो जीतको आधार हो ।’ भट्टराईले आफू द्वन्द्वपीडित भएर पनि  राजनीतिबाट विमुख नभएको तर्क गर्दै गलत आश्वासन बाँढेर मतदाता नझुक्याउन सबैलाई आग्रह गरे । 

 प्रदेश (ख) का कांग्रेस उम्मेद्वार उत्तम सुवेदीले प्रदेशको अवधारणा चुनौतीका रुपमा रहेको व्याख्या गर्दै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुर्याउनु आफ्नो उम्मेद्वारी भएको बताए ।

 ‘किसान, मजदुर, महिला सबै जातजाति र भाषाभाषीलाई अधिकार सम्पन्न बनाउनु छ’ सुवेदीले भने, ‘विदेशिएका युवालाई स्वदेशमा रोजगारी दिने, बालबालिका र बृद्धबृद्धाको पालनपोषण अर्को चुनावी मुद्दा हो ।’

 पर्यटन, कृषि, मठमन्दिरको संरक्षण पनि त्यत्तिकै जरुरी भएको सुवेदीको तर्क छ ।

 कार्यक्रम क्लबका अध्यक्ष राम निरौलाको अध्यक्षता र उपाध्यक्ष मनोज बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो ।

 यसैगरी नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको सुन्दर पक्ष महिला अधिकार रहेको बताएका छन् । 

 झापाको बाह्रदशी गाउँपालिका अन्र्तगत राजगढमा सम्पन्न महिला भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखिका हरेक परिवर्तनमा नेपाली काँग्रेसले महिला अधिकारलाई लोकतन्त्रसित जोडेको बताए ।

    
सिटौलाले लोकतन्त्र कमजोर भए अधिकारमाथि हस्तक्षेप हुने यथार्थ बताउँदै भने,“ यस निर्वाचनमा नेपाली काँग्रेसलाई घेराबन्दीमा पारेर लोकतन्त्रको आधारभूत सिद्धान्त समाप्त गर्न विभिन्न शक्तिहरु लागेका छन् ।“

 पूर्व उपप्रधानमन्त्री सिटौलाले कार्यक्रममा सहभागी महिलाहरुलाई नेपाली काँग्रेसलाई  जिताउन अनुरोध गर्दै जनताका अधिकार सुरक्षित गर्दै सन्तुलित विकास र सम्बृद्धिको मार्ग कोर्न आफूलाई सबैको सहयोग र आशीर्वाद चाहिएको बताए  ।

 यसैगरी शनिवारनै  नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले महिला भेला सम्पन्न गरेको छ । क्षेत्र नम्वर ३ मा पर्ने साविकका गाउँ समिति तथा नगर समितिको संयोजनमा महिला भेला सम्पन्न गरिएको हो ।

 भेलालाई क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौला, प्रदेश “क” का उम्मेदवार भूमिप्रसाद राजवंशी,  प्रदेश “ख” का उम्मेद्वार भगिरथ पोद्धार, समानुपातिक तर्फका उम्मेद्वार भारतेन्दुकुमार मल्लिक लगायतले सम्बोधन गरेका थिए ।  

सहभागी नेताहरुले लोकतन्त्रको रक्षा र अधिनायकवादको अन्त्यका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

 यता, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार बिश्वप्रकाश शर्माले समाजलाई भावनात्मक रुपमा गाँस्दै सबैको पहिचनालाई समेत जोडेर अगाडी बढ्न आवश्यक भएको बताएका छन् ।

 शुक्रबार मेचीनगर– ६ स्थित शान्ती तथा रमाईलो टोल, मेचीनगर –१ स्थित मेचे डाँगी चोक र मेचीनगर –३ स्थित हात्तीसुडे चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै शर्माले सबैलाई समेटेर नेपाललाई आर्थीक रुपमा समृद्धि तर्फ लैजानु पर्ने बताएका हुन् ।

 कार्यक्रममा प्रदेशसभाका उम्मेद्वार केशवराज पाण्डेले पनि बोलेका थिए ।

 नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नम्बर–५ को आयोजनामा सम्पन्न कार्यक्रमका वक्ताहरुले पहिलो संविधानसभा निर्वाचनबाट ४–४ जना कम्यूनिष्ट नेता प्रधानमन्त्री बन्दा पनि संविधान जारी हुन नसकेको तर दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको नेतृत्वमा सरकार बनेपछि डेढ वर्षमै संविधान जारी भएकोले संविधानको कार्यान्वयन र देश विकासका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जलकुमार गुरुङ् , झापा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार उद्वव थापा, क्षेत्र नम्बर–२ क्षेत्र बाट प्रदेशसभा सदस्यका उम्मेद्वार लक्ष्मण खड्का, निर्वाचन परिचालन समिति झापाका संयोजक सुधिरकुमार शिवाकोटी लगायतले बोलेका थिए ।  

कार्यक्रम कांग्रेस वडा सभापति दिपक मेन्याङ्वोको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ