आयोगद्वारा शान्ति सुरक्षाको माग,आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
519
Shares
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् ।
रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भने, "उम्मेदवार लक्षित आक्रमण दुखद् हो, शुक्रबार र शनिबार भएका घटनाबाट हामी गम्भीर भएका छौँ ।"
डा यादवले भने, यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदे यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरे । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले आइतबार उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ । लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै डा यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गरे । ।रासस