प्रधानमन्त्री देउवा चुनावी दौडाहामा,शनिबार तीन जिल्लाको आमसभालाई सम्बोधन गर्ने
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
465
Shares
पाँचथर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथर सहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दे छन् । देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १ सय ३३ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्देछन् ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वताइएको छ ।
तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले जानकारी दिनुभयो । सभापति देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, पाँचथर प्रतिनिधिसभाका उम्मेदवार भिष्मराज आङदेम्बे, प्रदेश सभा उम्मेदवारहरु नरेन्द्र कुमार केरुङ,सुरेन्द्र कुमार दाहाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।