बाम एकता टिक्दैन, कांग्रेस नेतृत्वकै सरकार बन्छ : नेता घर्ती
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
590
Shares
भोटेओडार (लमजुङ) । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नाटकीय रुपमा गरिएको बाम एकता लामो समयसम्म टिक्न नसक्ने र निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेपाली काँग्रेस लमजुङ्ले आज भोटेओडारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता घर्तीले एमाले लामो समयसम्म सरकारमा जान नपाएकाले बाम एकता गरेको बताए ।
उनले भने,“ एमालेको सपना अधुरै रहनेछ, चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ।” नेता घर्तीले जनताका अधिकार सुरक्षित गरिएको र लोकतन्त्रको संस्थागत विकास गर्ने प्रावधान समेटिएको संविधान नेपाली कांग्रेसको नेतृत्वमा आएकोले यसको सफल कार्यान्वयन कम्युनिष्टहरुबाट हुन नसक्ने ठोकुवा गरे ।
उनले भने,“ संविधानको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानको लागि कांग्रेसलाई जिताउनुको विकल्प नै छैन ।” नेता घर्तीले लमजुङ् जिल्ला प्राकृतिक स्रोत साधनमा सम्पन्न भएकोले स्थानीय स्रोत साधनको प्रयोग गरी जिल्लालाई समुन्नतितर्फ लैजान सकिने र वेरोजगारीको अन्त गरिने बताए ।
नेपालको लोकतान्त्रिक इतिहासमा लमजुङ् सदैव अग्रस्थानमा रहेको उल्लेख गर्दै नेता घर्तीले लोकतन्त्रको रक्षाका लागि लमजुङ्का सपूतहरुले दिएको बलिदान स्मरण गर्न पनि आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस लमजुङ प्रदेश नं (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले बाम गठबन्धनले दुई तिहाई ल्याएर संविधान संशोधन गर्छु भन्दै हिँड्नु दिवा सपनामात्रै भएको बताए ।
उनले विपक्षी दलले मुख्यमन्त्री बन्छु भनेर जनतसँग मत माग्नु हास्यास्पद भएको उल्लेख गर्दै भने,“ एक प्रदेशमा एउटा मुख्य मन्त्री हुन्छ, एमालेका नेताहरु जुनजिल्लामा पुग्यो त्यहीको उम्मेदवारलाई मन्त्री र मुख्य मन्त्री बनाइदिने सपना बेच्दै हिडेका छन् । उनीहरुको भ्रममा नपर्नुहोला ।” कार्यक्रममा नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले यो निर्वाचन जनताका हरेक मौलिक स्वतन्त्रता खोस्ने साम्यवादी र जनतालाई हरेक अधिकार दिने प्रजातन्त्रवादीहरुबीच भएकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।
उनले लमजुङको विकास काँग्रेसले गरेको जिकीर गर्दै विकासप्रेमी दललाई मतदान गर्न आग्रह गरे । “कृषि, पर्यटन, जलश्रोतको साथै सडक जस्ता भौतिक पूर्वाधार निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रको समग्र विकास सुनिश्चित गर्न पनि कांग्रेसले जित्न आवश्यक छ,” उनले भने । उनले जनतालाई अन्यौलमा राखेर राज्यका स्रोत साधन आफूमात्र रजाइँ गर्ने कम्युनिष्टहरु संसारबाट विदा भएजस्तै नेपालमा पनि विदा हुने दिन आउन लागेको दावी गरे ।