उर्लाबारी। नेकपा एमाले मोरङका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मोरङको पथरी बजारमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा मोरङ–३ का उम्मेदवार डा.सुनील शर्मा र प्रदेश सभा 'क' का उम्मेदवार सुयर्माराज राईले तामाङ सहित ३ सय ८ जनालाई फुमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे।
कांग्रेस प्रवेश गर्नेमा युवा संघ पथरीशनिश्चरेका मिलन राई, दिनेश राई, नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य प्रेम सम्बाहाम्फे लगायत छन् । नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार डाक्टर शर्माले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको जीत आवश्यक भएको औल्याए । शर्माले ३ वर्षमा आफ्नो निर्वाचन क्षेत्रका सबैलाई आधारभुत स्वास्थ्य सुविधा घर घरमा पुर्याउँने प्रतिवद्धता ब्यक्त गर्दै भने –‘राज्यले दिने स्वास्थ्य सेवा सुविधालाई अझै विस्तार गरेर कुनै पनि ब्यक्तिले पैसाको अभावमा मर्नु पर्ने दिनको अन्त्य गर्नेछु ।’
प्रदेश सभा उम्मेदवार सुयर्माराज राईले कांग्रेसको नेतृत्वमा मात्र मोरङ ३ को सुकुम्बासी समस्या र नदी नियन्त्रण सम्भव भएको जिकिर गर्दै कांग्रेसलाई जिताए सुकुम्बासी समस्याको मत माग्ने एजेण्डा सधैंका लागि अन्त्य हुने घोषणा गरे। उनले सुकुम्वासी समस्या समाधान भए जनताले कम्युनिष्ट पार्टीमा भोट नहाल्ने डरले ३८ वर्ष यता यो समस्या समाधान नभएको जिकिर गरे। राईले भने–राम्रो काम गर्ने प्रयास गरिरहेको छु । कतै मैले नराम्रो काम गरेको थाहा पाउनु भयो,प्रमाण लिएर आउनु होस, आजैका मितिमा उम्मेदवारी त्याग गर्छु ।’उनले पैसा कमाउन राजनीतिमा नआएको बताउँदै एक पटक काम गर्ने अबसर मागे ।
कार्यक्रममा कांग्रेस प्रवेश गर्नेहरूको तर्फबाट बोल्दै युथ फोर्स बेलबारी नगर समितिका उपाध्यक्ष भूपेन्द्र अधिकारीले आफूहरूलाई बन्दुक उठाउन लगाएर नेकपा एमाओवादी केन्द्र बाम गठबन्धनका नाममा एमालेसँग सति गएको बताए । उनले प्रचण्डलाई जनयुद्वको नाममा बलिदानी दिएका १७ हजार नेपालीको सराप लाग्ने बताए । यति चाँडै पार्टी बिलय होला भन्ने कल्पना समेत नगरेको बताउँदै उनले अब प्रजातान्त्रिक धारबाट आर्थिक रुपान्तरणको अभियानमा लागेको बताए । उनि मन्तब्य कै क्रममा गजल समेत प्रस्तुत गरेका थिए ।