लमजुङको भूमिमा लोकतन्त्रको पराजय हुन दिँदैनौं : घर्ती
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
108
Shares
परेवाडाँडा (लमजुङ) । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रका हिमायती, आर्थिक स्वतन्त्रता सहितका मौलिक र वैयक्तिक स्वतन्त्रताको उपभोग गरिरहेका नेपालीहरुले यो निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनै पर्ने अवस्था आएको बताएका छन् ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट लमजुङका उम्मेद्वार बनेका नेता घर्तीले बुधबार चुनावी प्रचारप्रसारको क्रममा परेवाडाँडाको आमसभालाई सम्बोधन गर्दै प्रजातान्त्रिक परिपाटीलाई बलियो बनाउनका लागि काँग्रेसलाई भोट दिनुपर्ने बताएका हुन् ।
उनले स्थानीय निर्वाचन र यो निर्वाचनको परिणामले पार्ने असरका बारेमा रहेको भिन्नता प्रस्तुत गर्दै भने,“ स्थानीय तहका पदाधिकारीहरु स्थानीय विकास निर्माण र जनताको सेवामा प्रत्यक्ष संलग्न हुन्छन, हाम्रा स्थानीय जनप्रतिनिधिहरुबाट राजनीतिक व्यवस्था परिवर्तन हुँदैन, तर प्रतिनिधिसभाको दायरा फरक छ, यसले संविधान समेत संशोधन गर्न सक्छ र वामपन्थीहरु संविधानलाई दुर्इतिहाइले फेरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेदेखि व्यवस्था नै फेर्ने कुरा गरिरहेका छन । यसले मुलुकमा कम्युनिष्ट शासनतिर जाने खतरा पनि उत्पन्न गराएको छ ।”
लमजुङ् जिल्ला २००७ सालको क्रान्तिदेखि नै लोकतन्त्रको पक्षमा रहेको बताउँदै नेपाली कांग्रेसका प्रभावशाली नेता धर्तीले भने “२०४८ सालमा पनि बाम एकता भएको थियो त्यतिखेर काँग्रेसले दुबै क्षेत्र जितेको थियो अहिलेपनि बाम एकता भएको छ अहिलेपनि काँग्रेसले जित्नुपर्छ र हामी जितेर देखाइदिनेछौ ”।
कार्यक्रममा प्रतिनिधि सभा प्रदेश (ख)का उम्मेदवार कृष्णप्रसाद कोइरालाले काँग्रेसको नेतृत्वमा संविधान आएको र नेपाली कांग्रेसले आर्थिक विकासतर्फ मुलुकलाई लैजान लागेकोले त्यसलाई विथोल्नका लागि बाम एकता भएको आरोप लगाए। “प्रचण्ड र केपी ओलीले बाम गठबन्धनलाई जिताएर संविधान बदल्ने कुरा गरिरहेका छन्, संविधान वदल्ने कुरालाई रोक्नका लागि भएपनि रुख चिन्हमा मतदान गर्नु आवश्यक छ,”– उनले भने।
कार्यक्रममा लमजुङ काँग्रेसका सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पार्टीका पूर्व सभापति तुलसीनारायण श्रेष्ठलगायतले लमजुङ जिल्लाको मुहार फेर्न काँग्रेसलाई विजय गराउनुपर्ने बताए ।