arrow

दाङ कांग्रेसको चुनावी अभियान तीव्रः उम्मेदवारहरु गाँउगाँउमा

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार

दाङ।  आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियान तीव्र बनाएको छ । प्रतिनीधी सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम अन्तरगत अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

गाँउगाँउमा पुगेर चुनावी प्रचारप्रसारस्ँगै अगुवा नेता कार्यकर्ता भेटघाट गरिरहेका यस क्षेत्रका उम्मेदवारहरुले वुधवार पनि गाँउगाँउमा कार्यक्रम गर्न व्यस्त रहेको प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिए । यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्य उम्मेदवार राजु खनाल, प्रदेश (क) का उम्मेदवार कमलकिशोर घिमीरे र प्रदेश (ख) का उम्मेदवार भरतबहादुर न्यौपाने सहित समानुपातिक उम्मेदवार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, पुष्पा वादी लगायतको टोली चुनावी प्रचारमा व्यस्त रहेका छन् ।

 जुन टोलीमा निवर्तमान सांसद अनिता देवकोटा सहित जिल्लाका अगुवा नेताहरु पनि रहेका छन् । यस क्षेत्र अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाँउ, वडा नम्बर ७ को सौडियार, वडा नम्बर १७ कर्जाही, पनौरा लगायतका स्थानमा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । यी स्थानमा सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उम्मेदवार राजु खनालले देशको हरेक विकासदेखी निकाससम्मका काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्क भएको बताए । देशका हरेक ठुलादेखी तल्लो स्तरका विकास कांग्रेसले गरेको उनको भनाई छ । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनेदेखी मधेशमा देखिएको समस्या समाधानसम्म कांग्रेसले नेतृत्वदायी भूमीका खेलेको भन्दै खनालले अब संविधान कार्यान्वयन चुनौतिपूर्ण भएकाले यसको नेतृत्वपनि कांग्रेसले नै गर्न आवश्यक रहेको बताए ।

 यस क्षेत्रमा आफैलाई मत हाल्न नपाउने टुरिष्ट उम्मेदवारहरु कम्यूनिष्ट दलहरुले ल्याएको भन्दै जनता झुक्याउने खेलमा लागेको खनालको भनाई छ । साथै उनले सो विषयमा सचेत रहन मतदाताहरुलाई अनुरोध गरे। आँफूहरु सधै जनताको सेवकको रुपमा रहिरहेको बताउदै खनालले केही नेताहरु जनतालाइ दास सम्झेर टुरिष्टको रुपमा आएको आरोप लगाए ।

सो क्षेत्रमा आँफू र अनिता देवकोटा सांसद रहदा हरेक क्षेत्रको विकास गरेको खनालले जानकारी गराए । सडक सञ्जालदेखी पुल पुलेसो, विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै विकास गरेको भन्दै आगामी दिनमा निर्वाचित भएर गएपछि त्यसलाई निन्तरता दिन सकिने बताए । कम्यूनिष्ट दलहरुले दाङ राजधानी बनाउछौँ भनेर दंगालीलाई झुक्याउन खोजेको भन्दै खनालले दाङ राजधानी बनाउने विषयलाई कांग्रेसले पहिलो मुद्धाको रुपमा अगाडी ल्याएको उनको भनाई छ । उनले देख्दा मोटोमात्र हुने गाईले दुध नदिनुभन्दा त दुध दिने सानो गाई नै ठिक भन्दै आफूलाई सानो गाईको रुपमा लिन मतदाताहरुलाई अनुरोध गरे ।

प्रदेश सभा सदस्यकालागि (क) का उम्मेदवार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थाईत्व दिनकालागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् । घिमीरेले नेपाली कांग्रेसले जितेमात्र देशमा लोकतन्त्र र प्रजातन्त्र स्थापना हुने बताए । यो निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले त्यसै अनुसार अगाडि बढन मतदाताहरुलाई आग्रह गरे। उनले नेपाली कांग्रेसको जित सुनिश्चित रहेको समेत दावी गरे । दाङ कांग्रेसको किल्ला भएकाले यसपटकको निर्वाचन पनि कांग्रेसकै पक्षमा भएको उनको भनाई छ । जिल्लाका पहाडी क्षेत्रमा कांग्रेसले धेरै क्षेत्रमा विकासका पूर्वाधारहरु पुर्‍याएको घिमीरले जानकारी दिए ।   

प्रदेश सभा सदस्यकालागि (ख) का उम्मेदवार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधानको रक्षाकालागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताए । कांग्रेसबाहेक अन्य दलले निर्वाचन जितेमा  लोकतन्त्र र संविधान नै खतरामा पर्ने उनको भनाई छ । लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न आवश्यक रहेको न्यौपानेले बताए । लोकतन्त्र रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेको भनाई छ । लोकतन्त्र बचाउने की देशलाई अधिनायकवाद तर्फ लैजाने त्यसको छिनोफानो गर्ने जिम्मा मतदातहरुमा रहेको भन्दै उनले लोकतन्त्र रक्षाकालागि  सहयोग गर्न मतदाताहरुलाई अनुरोध गरे।

कार्यक्रममा निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताइन् । आगमी निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको देवकोटाको भनाई छ । उच्च बनोवलकासाथ लोकतन्त्र बचाउन र संविधान कार्यान्वयनकालागि सम्पूर्ण लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न देवकोटाले अनुरोध पनि गरिन् । देशको हरेक विकास र निकासमा कांग्रेसको अहम् भूमीका भएको पनि देवकोटाको भनाई छ ।

विभिन्न स्थानमा भएको कार्यक्रममा कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, निवर्तमान सभापति घनश्याम रेग्मी, प्रचाररप्रसार समितिका संयोजक एवं साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ