रोल्पा । नेपाली काँग्रेस रोल्पाले आसन्न निर्वाचनमा आफ्ना गतिविधिहरुलाई तीब्र बनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेदवार एवं नेपाली काँग्रेस रोल्पाका सभापति तथा सिंचाई राज्य मन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य रोल्पा १ का उमेदवार शेरबहादुर महरा लगायतको टोली वुधबार बडाचौरमा पुगेको छ ।
उनीहरुको साथमा संस्थापक सभापति सुरेन्द्र हमाल, पूर्व सभापति माधवप्रसाद आचार्य पूर्व सांसद लेखनाथ आचार्य सहितको टोली पुगेको छ । यस्तै क्षेत्र नम्बर २ मा यसअघि अमरसिंह पुन पुगेर फर्किएका छन् ।
क्षेत्र नम्बर २ को दुईखोलीमा खगेन्द्रप्रकाश हमालसहित विभिन्न नेता तथा कार्यकर्ताहरु पुग्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले प्रचार प्रसारका गतिविधि बढाएसंगै स्थानीय मतदाताहरु पनि उत्साही भएका छन् ।
विहिबार भाबाङमा र सुलिचौरमा भेटघाट कार्यक्रम तय गरिएको नेपाली काँग्रेसका कार्यालय सचिव भीमबहादुर घर्तीले जानकारी दिए । २०७० सालको संविधान सभा निर्वाचनमा भन्दा गत स्थानीय तहको निर्वाचनमा रोल्पमा नेपाली कांग्रेसको पक्षमा हजारौं मत बृद्धि हुनुले नेपाली कांग्रेसलाई सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् ।