arrow

निधिलाई अब हामी ब्यालेटले शहीद बनाईदिन्छौं : राजेन्द्र महतो 

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
rajendra_mahato_ji.jpg

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सवक सिकाउने दाबी गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने, ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ। आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ ।’

नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे । उनले भने, ‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरुको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन् । 

मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हमीलाई कहिल्यै स्विकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन्।’ मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । 

महतोले अघि थपे,‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ । मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ। उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशी जनताले सफलता पाउनेछन्।’ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले त जनकपुरको विकास आफूलेमात्रै गरेको भन्दै म नै मधेशको मसिहा हो भनेर भन्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने, ‘मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहाह हुनै सक्दैन । उनको पार्टी स्वयम पनि मधेशीको भलो गर्ने पार्टी होईन, आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हाँस्यस्पद कुरा हो, यो कुरा जनताले अब पत्याउनेवाला छैनन, उनलाई साँच्चिकै भन्ने हो भने पनि नैतिक रुपमा मत माग्ने अधिकार छैन ।’

सोही क्षेत्रबाट कांग्रेसबाट उम्मेद्धवार समेत रहेका निधिप्रति निकै कडा रुपमा प्रस्तुत भएका महतोले अब निधिलाई जनताले नपत्याउने ठोकुवा गरे । उनले थपे,‘जसको सन्तानलाई गोली हानेर हत्या गर्नेले त्यही पीडित परिवारसँग अब के भनेर भोट माँग्छन, यो त हुनै सक्दैन, यो निर्वाचन क्षेत्र नम्बर ३ मा पनि हुँदैन, र धनुषामा पनि हुँदैन।’ उनले जनकपुरवासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को पनि नभाँचेको आरोप लगाए । उनले थपे,‘यो जनकपुरको अवस्था हेर्नुहोस्, यो निधि जहिल्यैपनि सरकारमा बस्यो, अहिले चुनावमा कुन आधारमा जनताको समर्थन लिन खोजेको हो ? मैले त बुझ्न सकेको छैन, त्यसैले अब उनले चुनाव जित्ने त कुरा परै जाओस्, मत माँग्ने पनि नैतिकता छैन, अब जनता विगतमा गरेको गल्ती दोहोर्याउने पक्षमा छैनन।’

महतोले निधिसँग जनकपुरका जनताले बदला लिने समेत दाबी गरे । उनले आफू सर्लाहीको मान्छे धनुषा आएको विषयलाई ठूलो नबनाउन आग्रह गर्दै भने,‘आन्दोलनकारीको कुनै गाउँ, घर, क्षेत्र र जिल्ला हुँदैन, हामी अहिलेपनि आन्दोलनकै क्रममा छौं, विगतमा ६÷६ महिना विरगन्जमा गएर आन्दोलन गरें, कहिले जनकपुर त कहिले विराटनगरमा गएको छु, यो निर्वाचनमा पनि हामी आन्दोलन गर्न आएका हौं।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ