पहिलो चरणको मतपत्र जिल्लामा पठाईँदै, दोस्रो चरणको छपाई सुरु
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
460
Shares
काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र छपाईको काम सम्पन्न भईसकेको भन्दै यसलाई अब जिल्लामा पठाउने तयारी भईरहेको बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आयोगको तयारी अब मतदान स्थल केन्द्रीत मात्रै हुने जानकारी दिए । उनले पहिलो चरणको निर्वाचनको लागि मतपत्र छपाईको काम सम्पन्न भईसकेको भन्दै मतदान सामग्रीहरुको व्यवस्थापन आदि काम मात्रै गर्न बाँकी रहेको बताए ।
निर्वाचन आयोगले ६४ देखि ६७ प्रकारका निर्वाचन सामग्रीहरु प्रयोग गर्ने बताए । त्यस अन्तर्गत् पनि १७ प्रकारका सामग्रीहरु जिल्ला तह र स्थानीय तहमा नै संकलन गरिने उनले जानकारी दिए । बाँकी रहेका समानहरु केन्द्रले पठाउने भन्दै त्यसमध्येका धेरै सामग्रीहरु पठाईसकिएको र केही प्राप्त गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
यी सबै सामग्रीहरु कात्तिक २७ गतेभित्र जिल्ला तहमा पठाईने र दोस्रो चरणको निर्वाचनको हकमा मंसिर १० गतेभित्र सबै सामग्री निर्वाचन हुने क्षेत्रमा पठाईसक्ने तयारी रहेको उनले बताए । निर्वाचन आयोगले स्वदेशी सप्लायर्सबाट सामग्री खरीद गर्ने भन्दै उनले ती सप्लायर्सहरुले विदेशबाट सामान ल्याउनु पर्ने भएकोले केही सामग्री आउन बाँकी रहेको प्रतिक्रिया दिए ।