रमेश लेखक कञ्चनपुर ३ र एनपी साउँद २ बाट चुनाव लड्दै
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
477
Shares
काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि लेखक साविकको कञ्चनपुर क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । यस्तै, प्रदेशसभा तर्फ क्षेत्र नम्बर ३ ‘क’ बाट यज्ञराज जोशी र ‘ख’ बेलबहादुर रानाले मनोनयन दर्ता गरेका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा काँग्रेसबाट पूर्व सांसद दिवानसिँह विष्ट, प्रदेश सभातर्फ ‘क’बाट गोपाल गुरुङ र ‘ख’बाट रामलाल रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री नारायणप्रसाद (एनपी) साउँदले कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालको संविधान सभा निर्वाचनमा नेता साउँद कञ्चनपुर २ बाटै निर्वाचित भएका थिए ।
यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर २ ‘क’ मा पुष्करराज ओझा र ‘ख’ नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवंम् निवर्तमान सांसद बहादुर सिंह थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापा यसअघि कञ्चनपुर ३ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।