तनहुँ । तनहुँमा काँग्रेस बरिष्ठ नेताविरुद्ध नै बागी उम्मेदवारी परेको छ । तनहुँ क्षेत्र नम्बर–१ मा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराए । यही क्षेत्रमा काँग्रेस नेता गोविन्दराज जोशीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
आफु गाउँ पुग्नेवित्तिकै चुनाव जितेको जस्तो महसुस हुने बताउँदै आएको बरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नै पार्टीबाट चुनौती आएको छ । काँग्रेसभित्र जोशी विवादित व्यक्तित्व मानिन्छन् ।
कसले कसरी गराए उम्मेदवारी दर्ता ?
यसक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वारेसनामामार्फत् डडेलधुरामा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारी गणेशराज पन्तले वारेसनामामार्फत् दर्ता गराएका हुन् ।
काठमाडौंको राष्ट्रियसभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । काठमाडौं–१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं–४ बाट कांग्रेस युवा नेता गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–२ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले राष्ट्रियसभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, प्रतिनिधिसभाका लागि एमालेका तर्फबाट काठमाडौं–५ मा महासचिव ईश्वर पोखरेल र काठमाडौं–७ मा रामवीर मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, काठमाडौं क्षेत्र नम्बर–८ को प्रतिनिधिसभाका लागि कांग्रेसका तर्फबाट नवीन्द्रराज जोशी र एमालेका तर्फबाट जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–१ को प्रतिनिधिसभाका लागि विवेकशील साझा पार्टीका तर्फबाट संयोजक रवीन्द्र मिश्र, काठमाडौं–२ का लागि सोही पार्टीबाट डा. सूर्यराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
सोही पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर–७ मा अनुपा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन् ।
यस्तै, ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा कांग्रेसका उदयशमशेर राणा, ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।
उता, चितवनको ३ नम्बर क्षेत्रको प्रतिनिधिसभातर्फ मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् । चितवनकै क्षेत्र नम्बर–१ मा एमालेका सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, इलाम क्षेत्र नम्बर–१ बाट एमाले वरिष्ठ नेता झलनाथ खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।