इलाम । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन तथा नेपाली काँग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको टुंगो लगाएका छन् ।
दलहरूले बुधबार सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।
निर्वाचन क्षेत्र नं १ को प्रत्यक्षतर्फ प्रतिनिधि सभामा वाम गठबन्धनबाट एमालेका झलनाथ खनाल र काँग्रेसबाट भूपेन्द्र कट्टेलले चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । खनाल यसअघि पनि तीनपटक क्षेत्र नं १ बाट लगातार सांसद बनिसकेका छन् ।
कट्टेल यसपटक खनालसँग प्रतिष्पर्धा गर्दै छन् । इलाम क्षेत्र नं २ मा गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्वाङ र काँग्रेसका केशव थापा उम्मेदवार बनेका छन् ।
प्रदेश सभातर्फ क्षेत्र १ को ‘क’ मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र काँग्रेसबाट देवेन्द्र राईले प्रतिष्पर्धा गर्दैछन् ।
केही वर्षअघि काँग्रेस छाडेर संघीय समाजवादी फोरमको जिल्ला अध्यक्षसमेत रहेका राई काँग्रेसमै प्रवेश गर्ने शर्तमा काँग्रेसबाट उम्मेदवार बनेको काँग्रेस स्रोतले जनाएको छ ।
क्षेत्र १ को ‘ख’ मा गठबन्धनबाट एमालेका काजीमान कागते र काँग्रेसबाट दुर्गा बराल चुनाव लड्दै छन् ।
प्रदेशतर्फ नै क्षेत्र २ को ‘क’ मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग काँग्रेसका डम्बर खड्काले प्रतिष्पर्धा गर्दैछन् ।
क्षेत्र २ को ‘ख’ मा भने वाम गठबन्धनबाट माओवादी केन्द्रका धीरेन शर्माले काँग्रेसका खगेन्द्र देवानसँग प्रतिष्पर्धा गर्दैछन् ।