रसुवाका एमाले र माओवादीका दर्जनौ कार्यकर्ता काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
383
Shares
रसुवा। रसुवामा एमाले र माओवादीका कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ। सोमबार मात्र कालिका गाउँपालिकाका एमाले र माओवादीका दर्जनौ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरुलाई काँग्रेसका प्रतिनिधि सभाका उमेद्वार मोहन आचार्यले स्वागत गरे। एमाले र माओवादी छोड्ने कार्यकर्ताले वाम गठवन्धनलाई अप्ठ्यारोमा पारेको छ।
यता गत स्थानीय निर्वाचनमा देशभरमै रसुवामा राम्रो जनमत बनाएको नयाँ शक्ति पार्टी र राम्रो मत लिएर बसेको राप्रपाको समर्थनले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धन सहज स्थितिमा छ।
रसुवामा काँग्रेस र नयाँ शक्ति सहितको लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु निर्वाचन अभियानमा केन्द्रित भएका छन् ।
विशेष गरी रसुवावासीले आसाको नजरले हेरेका इन्जिनियर मोहन आचार्य र रसुवाका लोकप्रिय युवा प्रेम तमाङको संयुक्त चुनावी अभियानले रसुवाको निर्वाचन माहौल गर्माएको छ ।
रसुवामा प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य र प्रदेश नम्बर १ बाट प्रभात तामाङ छन् भने प्रदेश २ मा नयाँ शक्तिबाट प्रेम तामाङ छन् ।
काँग्रेस र नयाँ शक्तिको यो गठबन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभई रसुवालीवीच यो गठबन्धनको जितको चर्चा समेत सुरु भइसकेको छ ।
२०४६ पछि हरेक निर्वाचनमा नयाँ नेतृत्व स्थापित गर्दे आएका रसुवालीले यस पटक लोकतान्त्रिक गठबन्धनको पक्षमा आफूलाई समाहित गर्न थालिसकेका छन् ।
गत स्थानीय निर्वाचनको मतलाई आधार मान्ने हो भने पनि रसुवामा लोकतान्त्रि गठबन्धन नै बलियो देखिन्छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसले सातहजार एकसय ३० र नयाँ शक्ति पार्टीले चारहजार ८५ मत ल्याएको थियो ।
यसै गरी उक्त निर्वाचनमा एमालेले छहजार नौसय ३१ र एमाओबादीले दुईहजार पाँचसय १२ मत ल्याएको थियो ।
गत स्थानीय निर्वाचनमा फरक –फरक निर्वाचनमा गएका काँग्रेस र नयाँ शक्ति मिलेर निर्वाचनमा गएपछि रसुवामा वाम गठबन्धन कमजोर देखिएको छ ।
यसमा पनि सधैँ लोकतान्त्रिक शक्तिकै पक्षमा देखिएका रसुवालीहरु काँग्रेस र नयाँ शक्तिको तालमेलवाट उत्साहित छन् भने काँग्रेसको सम्पूर्ण पार्टी पंक्ति लोकतानित्रक गठबन्धनको जितमा केन्द्रित रहेकाले रसुवाको निर्वाचन आफ्नो पक्षमा आउने काँग्रेसका नेताहरूको दाबी छ ।