arrow

हेभिवेट भिडन्त ? १८ पुरुषबीच एक्ली काँग्रेस महिला उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
khotang-district.png

खोटाङ । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । 

जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । 

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बनेकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन् ।  

बजिमयसँगै काँग्रेस, नेकपा एमाले – नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा माले, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् । 

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन् । 

निर्वाचनमा जिल्लाबाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छिन् । 

उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रतिनिधि सभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रीलाई दिएका छैनन् । 

दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रीहरु असन्तुष्ट बनेका छन् । 

प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् । 

चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ