arrow

ओखलढुङगामा साख जोगाउन काँग्रेस र गढ भत्काउन वामगठबन्धनको कसरत

logo
जीवन शर्मा।
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
congress-candidate-okhaldhunga.jpg

ओखलढुंगा। ओखलढुंगामा नेपाली काँग्रेस आफ्नो साख जोगाउन र वामगठबन्धन काँग्रेसको गढ भत्काउने कसरतमा लागेका छन् । 

आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै दलहरुले आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई व्यापक बनाएर अस्तित्वको लडाइमा लागेका हुन् ।

 स्थानीय तह निर्वाचनमा बहुमत ल्याएर वर्चस्व कायम गरेको  नेपनली काँग्रेसले आगामी निर्वाचनमा भने वामगठबन्धसँग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ । 

देश संघीय संरचनामा गएसँगै प्रदेशमा २ तथा संघमा १ सिट कायम रहेको ओखलढुंगामा नेपाली काँग्रेसलाई आफ्नो विराशत जोगाउन ठुलै कसरत गर्नुपर्ने अवस्था छ भने बाम गठबन्धनका लागि  किल्ला तोड्न उत्तिकै चुनौति देखिएको छ । 

दलहरुले मनोनयन दर्ता गराएर चुनावी प्रचारप्रसारलाई तीब्रता दिएसंगै गाउँगाउँमा चुनावी र राजनीतिक बहसले प्राथमिकता पाएको छ । नेताहरुले चुनावी परिणाम आफ्नो पक्षमा पार्न भेटघाट, लविङ, छलफल तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर चुनावी प्रचारलाई तिव्रता दिँदै आएका छन् । दलहरुको प्रचार प्रसारसँगै सर्वसाधारण पनि चुनावी माहोलमा उत्साहित देखिएका छन् । 

ओखलढुंगामा नेपाली काँग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेश्नल अर्गनाइजेशन लगायत ९ दलका २१ र स्वतन्त्र १ सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

सङघमा नेपाली काँग्रेसकोतर्फबाट निवर्तमान सांसद रामहरी खतिवडा र वाम गठवन्धनका तर्फबाट एमालेका निवर्तमान सांसद यज्ञराज सुनुवार  मैदानमा उत्रिएका छन् । काँग्रेसका नेता खतिवडाले संसद भित्रको चार बर्षे कार्यकालमा सबैभन्दा उत्कृष्ट सांसदको पहिचान बनाइसकेका छन् भने जिल्लाका जनतामाझ उत्तिकै लोकपप्रिय मानिन्छ । उनले सांसदको तलव समेत आफ्नो निर्वाचन क्षेत्रका जनताका विभिन्न विकासे काममा खर्च गरेर राम्रो छवी बनाएका छन् । 

वाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवार पनि ०७० को संविधान सभाको चुनावका कांग्रेसको गढ मानिएको ओखलढुंगा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र क मा नेपाली काँग्रेसका महासमिति सदस्य मित्रसेन दाहालले वाम गठबन्धनका तर्फबाट एमालेका आर्थिक विभाग प्रमुख अम्बिर बाबु गुरुङसंग प्रतिष्पर्धा गर्नु पर्ने छ । कांग्रेस नेता मित्रसेन दाहालले राजनीतिसंगै समाज सेवाको क्षेत्रबाट ओखलढुंगाका नागरिकहरु लाई निरन्तर सहयोग गर्दै आएका छन्  भने एमालेका गुरुङ व्यवसाय र समाजसेवा संगै केही बर्ष देखि राजनीतिमा सक्रीय बन्न थालेका हुन् । 

त्यस्तै निर्वाचन क्षेत्र ख मा कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य मोहन खड्कासंग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । तरुणदलका जिल्ला अध्यक्ष ज्ञानेन्द्र रुम्दाली निर्वाचन क्षेत्र ख मा स्वतन्त्र उमेद्वार बनेपछि सुनुवारलाई वाम गठबन्धनलाई उछिन्न थप कठिन भएको छ । 

दुई कार्यकाल काँग्रेसका जिल्ला सभापति भैसकेका प्रदिप कुमार सुनुवार लामो समयदेखि नियमित जिल्लामा बसी जनतासंगको सामिप्यतामा रहेका छन् । माओवादीका खड्का भने द्धन्दकालमा जन अदालतका न्यायधिश हुँदा बढी विवादीत हुनुका साथै पार्टी फुटको चरणमा बैध्य समुहमा गएर पुनः पुरानै घर फर्किएका नेता हुन् । 

०७० को संविधान सभा चुनावमा खसेको एमाले–माओवादीको मत काँग्रेसको भन्दा एक हजार पाँच सय बढी छ भने ०७४ को स्थानीय तहको चुनावमा पाँच हजार मत वामगठबन्धनको बढी देखिएको छ । यद्यपी वामगठबन्धन भित्रका पुराना असन्तुष्टिका कारण आफ्नो पक्षमा पासा पल्टीने काँग्रेसले अपेक्षा गरेको छ भने जिल्लाको तीनै सीट जित्ने वामगठबन्धनको दावी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ