बाजुरामा चुनाव जित्न काँग्रेसले बनायो ५ समिति र एक उपसमिति
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
445
Shares
बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको रणनीति तय गर्न सोमबारदेखि जारी बैठक मंगलबार सकिएको छ । बैठकले निर्वाचनको लागि विभिन्न समिति र उप समिति गठन गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
बैठकले नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिव जय बहादुर थापा चितवनको रामपुरमा रहेको मुग्लिन सडकखण्डबाट हराएको हुँदा खोजी कार्य गर्न सम्वन्धित निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
पार्टी पुर्व सचिव थापा धनगढीबाट काठमाण्डौका लागि छुटेको ६४०४ नम्वरको कर्णाली रिभरबाट गएको असोज २२ गतेदेखि हराएको हुँदा गृह मन्त्रालयलाई खोजी कार्य गर्न जिल्ला प्रशासन कार्यालय मार्फत पत्राचार गर्ने निर्णय गरेको पार्टी सभापति कविराज पण्डितले बताएका छन् ।
उनले पूर्व सचिवको तत्काल खोजी कार्य गर्न सम्बन्धित पक्षलाई दवाव दिने बताए । सचिव हराउँदा पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले खोजी कार्यमा सबैपक्षलाई सहयोग गर्न काँग्रेसले अपिल गरेको छ । काँग्रेसले खोजी तत्काल गराउन नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पत्र पठाउने समेत जनाएको छ ।
मंगलबार सम्पन्न बैठकले निर्वाचनका लागि पाँच समिति र एक सञ्चार उप समिति गठन गरेको छ । बैठकले पार्टी सभापति तथा प्रतिनिधी सभाका उम्मेदवार कविराज पण्डित संयोजक रहने गरी एक हजार एक जनाको प्रचार प्रसार मुल समारोह समिति गठन गरेको पाटी प्रवक्ता नर बहादुर शाहीले जानकारी दिएका छन् ।
शाहीले दिएको जानकारी अनुसार सदस्यमा नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, पुर्व सांसद् देवराज जोशी, महा नेपाली, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, महासमिति सदस्य पदम शाही रहेका छन् ।
यससैगरी बैठकले पार्टी कोषाध्यक्ष नारायण उपाध्यायको संयोजकत्वमा १५ जनाको समिति गठन गरिएको छ । त्यस्तै राजेन्द्र शाह (विपी)को संयोजकत्वमा ११ सदस्यीय साँस्कृतिक समिति गठन गरिएको छ । यस्तै पाटी पुर्व सचिव धनराज पण्डितको संयोजकत्वमा ८ सदस्यीय सचिवालय समिति बनाइएको छ । बैठकले पार्टी सचिव रनसिं अयडीको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ ।
बैठकले नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क बहादुर मल्ल संयोजक रहने गरी ११ सदस्यीय संचार उप समिति गठन भएको नेपाली काँग्रेसले जनाएको छ । यस्तै निर्वाचनका लागि गर्न जनक रावतको संयोजकत्वमा २२ सदस्यीय युवा परिचालन समिति गठन गरेको बताइएको छ ।
बैठकले पुर्व सभासद महा नेपालीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको बताइएको छ । प्रतिनिधी सभा र प्रदेश सभाका लागि नेपाली काँग्रेसले बुधबार विहानदेखि बडीमालिका नगरपालिकाबाट प्रचार प्रसार तथा घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ ।