सुदूरपश्चिमका ४ जिल्लामा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता
चारै जिल्लामा राष्ट्रिय राजनीतिमा चर्चित नेता बिनाको चुनावी प्रतिष्पर्धा
राम धामी ।
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
1k
Shares
डडेल्धुरा । पहिलो चरणको निर्वाचन हुने सुदूरपश्चिम क्षेत्रका ४ जिल्लामा जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिकि दल र स्वतन्त्र उम्मदेवारले मनोनयन दर्ता गरेका छन् ।
पहिलो चरणको निर्वाचन हुने सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा आइतबार शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भएको छ । उम्मेदवार बनेका वाम गठबन्धन र काँग्रेसको गठबन्धनका नेताहरु राष्ट्रिय राजनीतिमा खासै चर्चामा नआएका नेताहरु छन् । बैतडीबाहेक अन्य जिल्लामा ‘हेविवेट’ नेता बिनाको चुनावी प्रतिष्पंर्धा देखिएको छ ।
बैतडीमा प्रतिनिधी सभा निर्वाचनका लागि वामगठबन्धनका तर्फबाट पुर्व अर्थराज्यमन्त्री एमाले नेता दामोदर भण्डारीले मनोनयन दर्ता गरेका छन भने वहालवाला बाणिज्य राज्यमन्त्री तथा नेपाली काँग्रेस बैतडीका सभापति नरबहादुर चन्दले भण्डारीसँग प्रतिनिधी सभा सदस्यका लागि प्रतिष्प्रर्धा गर्नेगरि मनोनयन पत्र दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
प्रदेशसभा निर्वाचनकालागि बैतडीको क्षेत्र नं. १ बाट वाम गठबन्धनका तर्फबाट माओवादी नेता केशब बहादुर भट्ट र लोकतान्त्रिक गठधन्धनका तर्फबाट काँग्रेसका हरिमोहन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट एमालेका लिलाधर भट्ट र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेशबहादुर चन्दले मनोनयन दर्ता गराएका छन् ।
बैतडी पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला हो । पुर्वप्रधानमन्त्री चन्द र उनका छोरा वहालवला मन्त्री जयन्त चन्द चुनावी प्रतिष्पर्धामा छैनन् ।
देशभर वाम गठबन्धनमा सहभागी भएको राष्ट्रिय जनमोर्चाले बैतडीमा भने छुट्टै उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रिय जनमोर्चाका बिरेन्द्रसिंह भण्डारीले प्रतिनिधी सभाका लागि उम्मेदवारी दर्ता गराएका छन भने अर्जुनसिंह मडैले क्षेत्र नं. १ बाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
बैतडीमा एकीकृत राप्रपा राष्टवादीका तर्फबाट त्रिलोक चन्दले प्रतिनिधी सभामा उम्मेदवारी दर्ता गराएका छन भने विवेकसिल साझा पार्टीका नारायणदत्त अवस्थी र जनसमाजवादी पार्टी नेपालका धनबहादुर बोहराले प्रतिनिधी सभा सदस्य र सोही पार्टीका भगिरथसिँह कुँवरले क्षेत्र नं. १ बाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गरेका गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
दार्चलामा वामगठबन्धनका तर्फबाट एमाले नेता गणेश सिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । ठगुन्नासँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका पुराना नेता बिक्रमसिंह धामीले प्रतिष्पर्धा गर्नेछन् । वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका लागि दार्चलाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका मानबहादुर धामी र क्षेत्र नं. २ बाट एमालेका गेल्बु सिह बोहराको मनोनयन दर्ता गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं. १ बाट काँग्रेसका मदन गिरी र क्षेत्र नं. २ बाट काँग्रेसकै नेता जगदिश पालले उम्मेदवारी दर्ता गरेका छन् ।
दार्चला काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुको गृहजिल्ला हो । उनी समानुपातिकमा बस्न इच्छुक भएपछि लोकतान्त्रिक गठबन्धनले हाल राजनीति देखि टाढा रहेर आध्यात्मिक क्षेत्रमा कृयासिल पुराना नेता धामीलाई उम्मेदवार बनाएको हो । मार्मा क्षेत्रमा प्रभावशाली मानिने धामीले यसपटकको निर्वाचनमा प्रतिष्पर्धा गर्ने मौका पाएपनि एमालेका पुराना नेता बिरबहादुर ठगुन्नाले समानुपातिकमै चित्त बुझाउनु परेको छ ।
दार्चुलामा नयाँ शक्ति, स्वतन्त्र र वाम गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि नयाँ शक्तिबाट जितेन्द्रसिंह महर, स्वतन्त्र उम्मेद्वारको रुपमा रघुविरसिह ठगुन्ना क्षेत्रीले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
बाजुरामा वाम गठबन्धनको तर्फबाट एमालेले र कांग्रेसले एक्लै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र बाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट कांग्रेसको जनकराज गिरीले मनोनयन दर्ता गराएका छन् । बाम गठबन्धनका तर्फबाट एमाले सचिव बल्देव रेग्मीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र २ मा कांग्रेसका पदमबहादुर शाही र बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले उम्मेदवारी दर्ता गरेका छन् । बामगठबन्धन अन्तर्गत माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा एमालेलाई छाडेको छ । एमाले नेता कर्णबहादुर थापा र काँग्रेस नेता बद्री पाण्डेयले चुनावी प्रतिष्प्रर्धा गर्ने चर्चा रहेपनि बाजुरामा चर्चित नेताहरु चुनावी मैदानमा उत्रेनन् ।
राप्रपा प्रजातान्त्रिकले पनि बाजुरमा मनोनयन दर्ता गराएको छ । प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर (क) बाट कान्तबहादुर शाही र (ख) क्षेत्रबाट बीरबहादुर हमालले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधि सभाका लागि भने उसले उम्मेद्धवारी दर्ता गराएनन् । बाजुरामा नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेद्धवारी मनोनयन गरेको छ । प्रतिनिधि सभाका लागि दिलिप शाही र प्रदेश सभा क्षेत्र नं. १ का लागि नरेन्द्र विक कामी र क्षेत्र नं. २ मा सुर्जे चदाराले उम्मेदवारी दिएका छन् । त्यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर २ बाट प्रकाश बिकले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जाएको छ । सुदूरका ४ जिल्लामा लोकतान्त्रिक र बाम दुवै गठवन्धन भित्र उम्मेदवारको विषयमा ब्यापक असुन्तुष्टी देखिएको छ ।