arrow

राजनीतिक फोहोर सफा गर्ने प्रतिवद्धता सहित विजयले दिए विवेकशिल साझाबाट दोलखामा उमेद्वारी

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
bijay-filling-candidacy-dolakha-bibeksil-sajha.jpg

काठमाडौं । विवेकशील साझा पार्टीबाट दोलखा जिल्लामा विजय बाबु शिवाकोटीले उमेद्वारी दर्ता गराएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा शिवाकोटीले उमे्द्वारी दर्ता गरेका हुन्। 

लोकतन्त्रको रक्षा गर्दै त्यसलाई समुन्नत बनाउने अभियानमा रहेका शिवाकोटी समाज सेवाको क्षेत्रमा करिब १५ वर्ष सक्रिय रहेका छन्। आफ्नो उमेद्वारी दर्ता पछि स्वयंस्वकहरुसँग कुरा गर्दै शिवाकोटीले राजनीतिक नेतृत्वको नियत नै सही नभएकोले समग्र देशलाई नै समृद्धिको बाटोमा लैजान नसकिएको महसुस गरी विवेकशील साझा पार्टीका तर्फबाट आफ्नो उमेद्वारी दिएको बताए। " हामी राजनीतिमा रहेको फोहोर सफा गर्ने अभियान लिएर दोलखामा सशक्त ढङ्गले अगाडि बढ्ने उद्धेश्यका साथ आएका छौ ," उनले भने " विवेक पुर्‍याएर विकल्प बन्नका लागि आएका छौ। अब सबैको साथ सहयोगको अपेक्षा राख्दछौ । "

विवेकशील साझा पार्टीको जिल्ला संयोजक समेत रहेका शिवाकोटीले सही नियत भएको सक्षम नेतृत्व स्थापना गर्न आफ्नो उम्मेदवारी भएको  समेत बताए। 

दोलखा जिल्लाका प्रचुर सम्भावनाको सदुपयोग गरी आम नागरिकको तहसम्म लाभ वितरण गर्न नसक्नुमा हालको कुसंस्कारयुक्त राजनीतिको हात रहेकोले सुसंस्कारयुक्त राजनीतिको स्थापना गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए । 

कमजोर बन्दै गएको ग्रामीण समाज तथा अर्थतन्त्रलाई पुनर्उत्थान गर्न विभिन्न अनुसन्धानकर्ता, संघ-संस्था, व्यवसाय, सरकारहरुबीच समन्वय गरी सकारात्मक परिवर्तन हासिल गर्नको लागि पनि राजनीतिक नेतृत्वले सेतुको भूमिका खेल्नको लागि आफू जिल्लामा क्रियाशिल हुने शिवाकोटीले बताए। 

सडक तथा रेलमार्गबाट चीन र भारतलाई जोड्ने परियोजनाहरुको सम्भाव्यता अध्ययन गर्न; चरिकोट, दोलखा, कालिन्चोक, विगु, रोल्वालिङ, जिरी, शैलुङ जस्ता पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गर्न; तामाकोशी तथा यसका सहायक नदीहरुमा जलविद्युत परियोजनाहरुको सहज रुपमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्ने लगायतका चुनावी एजेण्डा उनले सुनाए। 

हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीबुटीहरुको दीगो उपयोग तथा तिनको प्रसोधन लगायतका कामहरु गरी त्यसको मूल्य बढाउनुका साथै तरकारी तथा फलफूल खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन थप सहज वातावरण सिर्जना गर्न; शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक सेवाहरुको गुणस्तर अभिवृद्धि गर्न; ग्रामीण सडकहरुलाई वर्षैभरि चल्ने बनाउन विभिन्न निकायहरुबीच समन्वय गर्न आफ्नो उम्मेदवारी रहेको विजयले बताए ।

तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्ने दिशामा कदम चालेपछि विभिन्न पेशागत तथा नागरिक समूहहरुका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाई शिवाकोटीले लोकतन्त्रको पक्षमा उभिने मात्र नभइ आवाज समेत वुलुन्द पारेका थिए । 

लोकतन्त्र तथा शान्तिका लागि नागरिक अभियानमा सक्रिय रही २०६२/६३ को जनआन्दोलनमा समेत भाग लिएका उनले चिकित्सा क्षेत्रमा रहेको व्यापारीकरण आम नागरिक तथा समग्र स्वास्थ्य क्षेत्रको हित विपरीत छ भन्ने विश्वास गरी डा गोविन्द केसीले चलाउनुभएको अभियानमा सुरुवाती चरणबाट नै शिवाकोटी सक्रिय थिए। 


सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने बताउने उनले विद्यायलमा पढ्दा पनि त्यसलाई अगाडि बढाएका थिए । विद्यालय तहको पढाइ सकिएपछि पनि विभिन्न अभियान तथा सामाजिक संस्थाहरुमा मूलत: स्वयंसेवकको रुपमा सहभागी भई आफ्नो योगदान दिएका थिए । 

शान्ति शिक्षा अभियान नेपालमार्फत् दोलखा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर जिल्लाका करिब २०० विद्यालयहरुसँग शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सहकार्य गरेका थिए ।

२०७२ सालको भूकम्पपछि संस्थाले दोलखा जिल्लाका पाँच विद्यालय सहित २२ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न गरेको थियो । सोही भूकम्प पश्चात् दोलखा लगायतका जिल्लाहरुमा सामाजिक संस्थाहरु मार्फत् राहत वितरणमा पनि समन्वयकारी भूमिका खेलेका थिए । 

पहिलो संविधानसभाको विघटन हुनु अगाडि नै समयमा नै संविधान बन्नुपर्छ भनी नागरिक स्तरको सञ्जालमार्फत् दबाब दिन देशव्यापी अभियानमा सहभागी भएर होस् या आफ्ना माग पूरा गर्न आम नागरिकलाई बन्धक बनाउने वन्दको शैलीले देशलाई अहित गर्छ भनी वन्दविरुद्धको देशव्यापी अभियानको नेतृत्व गरेर होस्, विजयले देश र नागरिकको हितमा निरन्तर आवाज उठाइरहेका छन् ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका - १, सुस्पा क्षमावतीमा जन्मिएका विजय (३२) ले बूढानीलकण्ठ माध्यमिक विद्यालयमा ए लेभलसम्मको अध्ययन सम्पन्न गरी त्रि-चन्द्र कलेजमा तीन वर्ष स्नातक तह अध्ययन गरेका थिए । वैदिक दर्शनमा गहिरो अभिरुचि राख्ने शिवाकोटी श्रीमद्भागवतगीताको निष्काम कर्मयोगको अवधारणाबाट प्रभावित छन् । साथै महात्मा गान्धीको जीवनीले पनि उनमा गहिरो छाप पारेको छ । पदयात्रा गर्ने, पु्स्तक तथा समसामयिक लेख रचनाहरु पढ्ने, योग गर्ने रुचि रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ