एमालेले उपयोग मात्र गर्न खोजेको भन्दै दिपक मनाङगेले दिए वागी उमेद्वारी
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
259
Shares
मनाङ। जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस भएर गएपछि टिकट पक्का भएको बुझाइमा मनाङमा ' आतंक ' मच्चाएका दिपक मनाङगेलाई अन्तत एमालेले टिकट नदिएर खण्डा लामा गुरुङलाई उमेद्वार बनाएको छ।
आफूलाई पार्टी प्रवेश गराउने बेलामा मनाङमा पार्टीलाई वलियो बनाउन लाग्नुस भनेर भन्ने अहिले ' गुण्डा ' को पगरी भिराउने भन्दै रुष्ट भएका दिपक मनाङगेले एमालेकै वागी भएर उमेद्वारी दिने भएका हुन्।
टिकट पाउने आसमा जिल्लाका विभिन्न गाउँ घुमेर फरक विचार राख्ने स्थानियहरुलाई कुटपिट अपहरण र लुटमा पनि सक्रिय भएका मनाङगेले आफूलाई पार्टीले छोटो समयमै उपयोग मात्र गरेको भन्दै आफन्तहरुसँग गुनासो पनि गरेका छन्।
मनाङ ‘ख’का लागि प्रदेश सभा उम्मेदवारमा सिफारिस परेका दिपक मनाङेको नाम काटेर खण्डा लामा गुरूङलाई उम्मेदवार बनाएपछि उनी एमालेका नेताहरुसँग रुष्ट भएका हुन्।
राप्रपाबाट आफूसँगै एमालेमा आएकी लामालाई एमालेले टिकट दिने र आफूलाई गुण्डा बनाएर प्रयोग मात्र गर्ने रणनीति थाहा पाएपछि उनी एक कदम अगाडी बढेर स्वतन्त्र उमेद्वारी दिने तयारीमा पुगेका हुन्।
एमाले स्थायी कमिटिले शनिबार राती मनाङेको विकल्पमा उम्मेदवार तय गरेको थियो । जिल्लाबाट सर्वसम्मत रूपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरूले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको हो ।
एमालेले पार्टीमा प्रवेश गराउँदा मनाङगेलाई राजिव गुरुङको नाममा प्रवेश गराएपनि अहिले सार्वजनिक उपभोगका लागि आफूहरु राजिव गुरुङका नाममा झुक्किएको बताउँदै आएको छ।