काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले निर्वाचनका बारेमा दुविधा नराख्न आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले भने, “निर्वाचनका लागि अघि बढिरहेका छौ, सम्पूर्ण तयारी भइसकेकोछ, यही असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम नजिकिसकेको छ, अबको १५ दिनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता दिने मिति पनि आइसकेको छ ।”
समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतको राजनीतिक दलले चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको बताउँदै उनले आचारसंहिता पालनाको विषयमा राजनीतिक दल र उम्मेदवारले जनताबाट सिक्न आवश्यक छ, भने ।
मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने सन्दर्भमा जस्तोसुकै कारबाही गर्न दृढ रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “जसरी पनि चुनाव जित्ने मनसाय नराख्नु होला, आचारसंहिता उलंघन भएको पाइएमा कारबाही हुनेछ ।
आयुक्त ईश्वरीप्रसाद पौड्यालले पछिल्लो समय समानुपातिक निर्वाचन प्रणाली लोकप्रिय भएकैकारण विश्वका ७१ मुलुकले यसलाई आत्मसाथ गरेको जानकारी दिँदै बन्दसूचीलाई कसरी कम भन्दा कम त्रुटीपूर्ण बनाउने भन्ने सन्दर्भमा प्रशिक्षण आयोजना गरिएको बताए ।
अर्का आयुक्त सुधीरकुमार शाहले लोकतन्त्रको सुदृढीकरण र नैतिक आचरणमा रहने प्रत्यन राजनीतिक दल र उम्मेदवारबाट भएमा निर्वाचनमा आउने गरेका धेरै खाले टिक्का टिप्पणी हराउँदै जाने छन् भन्नुभयो ।
सो अवसरमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने प्रक्रिया, उम्मेदवारले बुझाउनुपर्ने धरौटी र निर्वाचन खर्चको विवरण, उम्मेदवारको बन्दसूची निर्धारण गर्ने ढाँचा, प्राप्त गरेको मतका आधारमा समानुपातिक समावँेसी सिदान्त अपनाएर गर्नुपर्ने सिटको बाडँफाँड लगायतका बारेमा दलका प्रतिनिधिलाई प्रशिक्षण दिइएको थियो ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेशसभामा २२० जनप्रतिनिधिको चयन हुनेछ ।
मुलुकका ८८ वटा राजनीतिक दलले आगामी निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने जनाएका छन् । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभाका लागि ५० हजार तथा प्रदेशसभाका लागि २५ हजार धरौटी राख्नुपर्ने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।