arrow

प्रमुख आयुक्तले भने– मतपत्र छाप्दा गल्ति नगर्नू

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
ayodhi-yadab-new-s.jpeg

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ ।

मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार भई होशियारीपूर्वक काम गर्न निर्देशन दिए ।

उनले भने,  “हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको मतपत्र नै हो, छपाइ गर्ने, क्रम संख्या मिलाउने, गुणस्तर कायम गर्ने र बण्डल बनाउने काम चुस्त र व्यवस्थित रुपमा हुनुपर्छ ।”

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र व्यवस्थित तुल्याउन आयोगको व्यवस्थापन चुस्त र दुरुस्त हुन आवश्यक रहेको बताउँदै डा यादवले मतपत्र छपाइ र व्यवस्थापनमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने भएकाले त्रुटिरहित तरिकाबाट आआफ्नो जिम्मेवारी पूरा गर्न सहभागीलाई निर्देशन दिए ।

डा यादवले भने, ‘‘निर्वाचन व्यवस्थापनका लागि समयको चापलाई हेक्का गरेर आजैदेखि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य शुरु गर्ने कार्यक्रम रहेको छ, आगामी निर्वाचनलाई उत्कृष्ट निर्वाचन बनाउने गरी जिम्मेवारी बहन गर्नुहोस् ।’’

आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको काम निकै संवेदनशील र जटिल भएकाले त्यसमा संलग्न कर्मचारीलाई कुनै कमजोरी हुन नदिने ढंगबाट जिम्मेवार भएर काम गर्न सुझाव दिए ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनमा खटिने हरेक कर्मचारी कामप्रति संवेदनशील, गम्भीर र नियमित हुन तथा मतपत्रको छपाईसम्बन्धी गोपनीयता कायम राख्न र कामको प्रगतिको विवरण समयमै उपलब्ध गराउन सुझाव दिए ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।  अभिमुखीकरण कार्यक्रममा जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जना सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ