रौतहट । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित भएकी छन्।
आइतबार राति सम्पन्न मतगणनामा यादवले तीन हजार ८७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिलकुमार यादवले तीन हजार ८०३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपप्रमुख रंगिला देवीले चार हजार ६०३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दु देवीले चार हजार २७६ मत प्राप्त गरिन् । यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या चार पुगेको छ ।
जिल्लाभरिका कूल १८ स्थानीय तहका लागि भएको निर्वाचनमा गरुडा नपासँगै बौधीमाई, माधव नारायण, देवाही गोनाही नगरपालिकाको प्रमुखमा फोरमका उम्मेदवार विजयी भएका छन् ।
चन्द्रपुर, परोहा, गढीमाई, फतुआ विजयपुर, राजदेवी, बृन्दावन, राजपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकालगायत आठ स्थानमा काँग्रेस प्रमुख पदमा निर्वाचित भएको छ ।
त्यसैगरी माओवादी केन्द्र मौलापुर नगरपालिका, कटहरिया नगरपालिका र यमुनामाई गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । गौर नगरपालिका, गुजरा नगरपालिकामा राजपा र इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम प्रमुखमा विजयी भएको छ ।